‘प्रसाद २’को विवाद मिल्यो, विपिनले कहिलेबाट गर्नेछन् सुटिङ ?

केही महिनादेखि चलिरहेको फिल्म ‘प्रसाद २’को टिम र कलाकार विपिन कार्कीविचको विवाद मिलेको छ । चलचित्र निर्माता संघ र चलचित्र कलाकार संघको रोहबरमा भएको छलफलमा विवाद मिलेको हो । अब, यो फिल्मको छायांकन केही समयपछि सुरु गर्ने र विपिन कार्कीले समय दिने निर्णय भएको छ ।

सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यो फिल्ममा विपिन कार्की र नायिका नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन् । कलाकार अर्पण थापाले फिल्ममा नेगेटीभ भूमिका निर्वाहा गर्नेछन् ।

तर, नायक विपिन कार्कीले भने हिन्दी फिल्म ‘एनिमल’को छायांकन सकेपछि यो फिल्मलाई समय दिने बताएका छन् । मेरो फिल्मसँगको कुराकानीमा उनले भने–‘मेरो २ सेड्यूलमा एनिमलको छायांकन छ । दुबै सेड्यूल सकेपछि म प्रसाद २ मा काम गर्नेछु ।’ विपिनले आफूले गर्ने अबको पहिलो नेपाली फिल्म ‘प्रसाद २’ भएको बताएका छन् ।

सुवास थापाको प्रस्तुतिमा तयार हुने यो फिल्म ‘प्रसाद’को प्रिक्वेल हुने बताइएको छ । दशैं अगाडि नै छायांकन सुरु हुनुपर्ने भएपनि सेटमा विवाद भएपछि यसको काम रोकिएको थियो ।