‘भिष्म पितामह’ नीर शाह लाई जन्मदिनको शुभकामना !

नेपाली फिल्म क्षेत्रका सफल निर्देशक, कलाकार, निर्माता, लेखक तथा गीतकार नीर विक्रम शाह आजबाट ७७ बर्षमा प्रवेश गरेका छन् ।

कलाकार शाहलाई सामाजिक सञ्जालको माध्यमबाट विभिन्न फिल्मकर्मी तथा शुभेच्छुकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । फिल्म ‘सेतो बाघ’ पछि निर्देशनबाट टाढा रहेका शाहको चरित्र अभिनेताको रुपमा अहिले पनि नेपाली फिल्ममा राम्रो माग छ ।

वि.सं. २०२४ सालमा हिरासिंह खत्री निर्देशित फिल्म ‘परिवर्तन’ बाट उनले अभिनय यात्रा सुरु गरेका थिए । शाहले अभिनय गरेको पहिलो नेपाली फिल्म ‘परिवर्तन’ हो ।

शाहले ‘कुसुमे रुमाल, प्रेम पिण्ड, नाता रगतको, ढुकढुकी, बादलपारि, सिउँदोको सिन्दुर, गौथली, जीवनसाथी, बाचा बन्धन, मुना मदन, सानो संसार, किस्मत’ लगायतका फिल्मका अभिनय गरेका छन् ।

५ दशक लामो फिल्म करिअरमा उनले प्रेमपिण्ड, नाता रगतको, कान्छी, ढुकढुकी, मुनामदन, किस्मत, सानो संसार, बादलपारी’ लगायत तीन सय बढी फिल्ममा काम गरेका छन् । उनले बलिउडका केही फिल्महरुमा पनि अतिथि भूमिकामा काम गरिसकेका छन् ।

कलाकार शाहले धेरै फिल्मको स्क्रिप्ट पनि लेखेका छन् । पहिलो फिल्ममा ७ सय रुपैयाँ पारिश्रमिक पाएका उनी अहिले नेपाली फिल्मका महंगा चरित्र अभिनेताका रूपमा परिचित छन् । कुशल गीतकार समेत रहेका उनी ‘पर्खिबसे आउला भनी’, ‘छोरी मलाई भागी भागी नसताऊ’ ‘गहिराइमा डुब्दै नडुब’, ‘प्यारी बसन्ती’, ‘को हो त्यो जसले मलाई’ जस्ता लोकप्रिय गीतका स्रष्टा हुन् ।

शाहले ‘बासुदेव, पच्चिस बसन्त, बसन्ती, राजमती, सेतो बाघ’ लगायतका फिल्म निर्देशन गरेका छन् ।

झण्डै १४ वर्षदेखि प्रेसरको औषधी सेवन गरिरहेका कलाकार नीर शाहलाई नेपाली फिल्म जगतले उनलाई ‘भिष्म पितामह’ पनि भन्ने गरिन्छ । नेपालमा टेलिभिजन स्थापित गर्नमा पनि उनको ठूलो योगदान छ । उनी नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष हुन् ।

नेपाली फिल्म क्षेत्रका विभिन्न संघ संस्थाहरुको संरक्षक समेत रहेका शाह चलचित्र विकास बोडका पूर्व अध्यक्ष पनि हुन । नीर शाहले थुप्रै राष्ट्रिय अवार्डहरु समेत पाएका छन् ।

आज पनि सक्रिय रुपमा नेपाली फिल्म क्षेत्रमा लागिरहेका नेपाली फिल्मका एक ‘भिष्म पितामह’ नीर शाहलाई जन्मदिनको शुभकामना ।