‘२ नम्बरी’का मेकरले प्राविधिकहरुलाई बोनस दिने
शुक्रबारदेखि रिलिज भैरहेको फिल्म ‘२ नम्बरी’ले बक्स अफिसमा सुखद व्यापारलाई निरन्तरता दिइरहेको छ । रिलिजको पाँचौ दिन मंगलबार पनि व्यापार उच्च देखिएको छ । देशैभरका मल्टिप्लेक्समा फिल्म हेर्न दर्शकको उच्च अकुपेन्सी छ ।
फिल्मका निर्माता किरण नेपालीले आफूहरु नाफामा गैसकेको बताएका छन् । फिल्मले निर्माताको पोल्टामा राम्रो रकम फिर्ता गर्ने पनि पक्का देखिएको छ ।
फिल्मबाट राम्रो मुनाफा कमाउने भएपछि निर्माता किरण नेपालीले फिल्म निर्माणमा पर्दा पछाडि रहेर दुःख गरेका प्राविधिकहरुलाई बोनस दिने भएका छन् । उनले भने–‘फिल्म निर्माणको समयमा कम पारिश्रमिकमा पनि निक्कै दुःख गरेर काम गर्नुभएका प्राविधिकहरुलाई हामी बोनस दिन्छौं । फिल्म हिट बनाउनमा उहाँहरुको पनि ठूलो हात छ ।’
बोनस कति दिने भन्ने अहिले पक्का नभएको उनले बताए । फिल्मले गर्ने लाइफ टाइम कलेक्शनको आधारमा बोनस दिने उनले बताए ।
नेपालमा फिल्म हिट भएपछि निक्कै कम मात्र मेकरले प्राविधिकहरुलाई बोनस दिएका उदाहरण छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेनको मुख्य भूमिका छ ।
प्रतिक्रिया