‘चिसो बर्ष’मा काम गर्न पाउँदा उत्साहित छुः सोनाम तोप्देन

फिल्म ‘सम्हाल्न्छि कहिले मन’मा काम गरेका नायक सोनाम तोप्देन दोश्रो फिल्मका लागि अनुबन्धित भएका छन् । सोनामले निर्देशक मिन बहादुर भामको नयाँ फिल्म ‘चिसो बर्ष’मा आफू छानिएको पुष्टी गरे । फिल्मका लागि सोनामले दशैं अगाडि अडिसन दिए । अब, उनी फिल्मको मुख्य अभिनेताको रुपमा काम गर्नेछन् । ३ दिन अगाडि आफू फिल्ममा फाइनल भएको उनको भनाई छ ।

सोनामले मिन भामको फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिए । उनले भने–‘यो फिल्म मेरा लागि विशेष हुनेछ । मिनजीको विश्व बजारमा छुट्टै क्रेज छ । उहाँको निर्देशनमा काम गर्न पाउँदा खुशी लागेको छ ।’
सोनामले यो फिल्मको छायांकनका लागि आफूहरु जनवरीबाट नै डोल्पा जाने बताए । फिल्मको छायांकन भने मार्चबाट सुरु हुनेछ ।

फिल्म ‘सम्हालिन्छ कहिले मन’मा सोनामले गरेको कामलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । जीवन बाँच्नका लागि एक महिलाले गर्ने संघर्षको कथालाई यो फिल्ममा प्रस्तुत गरिनेछ । पुरुष प्रधान शक्तिशाली रहेको एक हिमाली गाउँको कथालाई मिन भामले यो फिल्ममा प्रस्तुत गर्ने तयारी गरेका छन् ।