नेपाली सेनाले ‘सर्ट फिल्म प्रतियोगिता’ सञ्चालन गर्दै

नेपाली सेनाले सर्ट फिल्म प्रतियोगिताको ११औं संस्करण ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०७९’ सञ्चालन गर्ने भएको छ ।

सेनाले वार्षिक रूपमा सर्ट फिल्म प्रतियोगिता सञ्चालन गरी फिल्म क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरूद्वारा मुल्याङ्कन समिति गठन गरेर उत्कृष्ट सर्ट फिल्महरूलाई पुरस्कृत गर्दै आइरहेको छ । नेपाली सेनासँग सम्बन्धित गतिविधि तथा नेपली सेनाको छवि उजागर हुने गरी सेनाले २०६७ देखि प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यसपटक पनि निरन्तरता दिन लागेको हो ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सर्ट फिल्म प्रतियोगिताको ११ औँ संस्करण सर्ट फिल्म प्रतियोगितामा भाग लिन इच्छुक व्यक्ति तथा संघसंस्थाले नेपाली सेना सम्बन्धि रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेना र सेनाले गरेका एवं गरिरहेका कार्यहरु झल्किने विषयवस्तुहरुमा आधारित रही प्रतियोगितामा भाग लिन सक्नुहुनेछ,’ निर्देशनालयले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतियोगितामा सेनासम्बन्धी रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेनाले गरेका एवम् गरिरहेका कार्यहरू झल्किने विषयवस्तुमा आधारित रही स्क्रिप्ट तयार गरेर बुझाउनुपर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतियोगिताको लागि फारम वितरण कात्तिक १४ गतेदेखि हुने र १८ गतेसम्ममा बुझाइसक्नुपर्ने, कात्तिक २४ गते अन्तरक्रिया कार्यक्रम गरिने र मंसिर २६ देखि २८ गतेसम्ममा स्क्रिप्ट बुझाउनुपर्ने सेनाले जनाएको छ ।

सर्ट फिल्म प्रतियोगितामा सहभागी जनाएर प्रथम पुरस्कार जित्नेले दुई लाख रुपैयाँ पाउनेछ । द्वितीय पुरस्कार १ लाख ५० हजार हजार र तृतीय पुरस्कार १ लाख रहेको छ । सान्तावनास्वरुप दुई प्रतियोगीलाई २५-२५ हजार दिइने बताइएको छ ।

त्यस्तै, निर्णायक मण्डलबाट स्तरीय ठहरिएका १० वटा सर्ट फिल्मलाई प्रोत्साहनस्वरुप प्रति फिल्म ५० हजार उपलब्ध गराइने निर्देशनालयले जनाएको छ ।