६ महिनामा चले ५ फिल्म
नेपाली बक्स अफिसमा कोरोना महामारीपछि रिलिज भएका फिल्महरुले गरेको व्यापारिक आँकडा कमजोर छ । तर, अघिल्ला बर्षहरुको आँकडा हेर्ने हो भने सफलताको सूची लामो छ ।
यो बर्षको वैशाख १ देखि असोज २१ गतेसम्मलाई हेर्ने हो भने, ६ महिनामा ५ फिल्म चलेको देखिन्छ । जसमा फिल्म ‘कबड्डी ४’ ब्लकबस्टर भएको छ । यो वर्षको सुरुवातको दिनदेखि रिलिज भएको फिल्म ‘ए मेरो हजुर ४’ले ‘केजीएफ २’सँगको भिडन्तको बाबजुत निर्मातालाई सुरक्षित राख्यो । झरना थापा निर्देशित फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् ।
यस्तै, जेठको १३ गतेबाट रिलिज भएको ‘कबड्डी ४’ले ऐतिहासिक रेकर्ड बनाउँदै व्यापारमा उछाल नै कायम गर्यो । फिल्मले २२ करोड माथिको व्यापार गरेको निर्माताको दाबी छ । रामबाबु गुरुङ निर्देशित यो फिल्मले दर्शकको मन जित्यो ।
असार र साउन महिना नेपाली फिल्मका लागि फापेन । दुबै महिनामा रिलिज भएका फिल्मले दर्शकको मन जित्न सकेनन् ।
भदौमा रिलिज भएको फिल्म ‘झिङ्गे दाउ’ले व्यापारमा नयाँ उदाहरण बनायो । इनिसियल व्यापार नगरेको यो फिल्मले दर्शकको मन जित्दै आजका दिनमा पनि हलमा पकड बनाइरहेको छ ।
असोज महिना नेपाली फिल्मका लागि लक्की देखियो । हिट सिरिज ‘प्रेमगीत’को तेश्रो भागले दर्शकको मन जित्यो । हिन्दी भन्दा नेपाली भर्सनमै नेपाली दर्शक आकर्षित भए । फिल्मले नेपालबाट निर्माताको लगानी सुरक्षित गर्ने निश्चित छ ।
यस्तै, शुक्रबारदेखि रिलिज भएको फिल्म ‘२ नम्बरी’ पनि बक्स अफिसमा चम्कियो । रिलिजको पाँचौ दिन पनि दर्शकको मन जितिरहेको यो फिल्मले निर्माता किरण नेपालीको लगानी सुरक्षित गरिसकेको छ । दीपेन्द्र लामाको कथा र निर्देशनले दर्शकको मन जित्यो ।
यसरीहेर्दा, ६ महिनामा ५ फिल्म चलेको देखिन्छ । जसले, नेपाली फिल्ममा केही सुखद आशा देखाएको छ ।
प्रतिक्रिया