किन चल्यो ‘२ नम्बरी’ ?

शुक्रबारदेखि हलमा रिलिज भैरहेको नेपाली फिल्म ‘२ नम्बरी’ले आज सोमबारसम्म आइपुग्दा सुखद व्यापारलाई कायम गरिरहेको छ । दर्शकको वर्ड अफ माउथ राम्रो पाएपछि फिल्म हलमा चम्किरहेको छ । आज मध्यान्नदेखिका देशभरका शोजमा दर्शकको भीड देखियो । भोलीको व्यापार पनि सुखद हुने आँकलन निर्माणपक्षको छ ।

एकातिर ‘प्रेमगीत ३’को क्रेज चलिरहेको समयमा रिलिज भएको यो फिल्म किन चल्यो ? प्रचारप्रसार समेत औषत गरिएको यो फिल्म चल्नुको पछाडि के कारण होला ? आउनुहोस्, यसमा चर्चा गरौं ।

यो फिल्मको गीत चलेन । प्रचार निक्कै कम गरिएको थियो । फेरि, दशैंको टिकाको पर्सीपल्ट नै रिलिज भएकाले पनि दर्शक आउने वा नआउने पक्का थिएन । अर्कोतिर, देशभर परेको पानीको प्रभाव पनि यसका लागि वाधक थियो ।

तर, शुक्रबार नै फिल्म हेर्न दर्शक हलमा ओइरिए । शनिबारको व्यापार पनि शुक्रबारको जस्तै रह्यो । आइतबार पनि व्यापारमा खासै कमी आएन । आज सोमबार त फिल्मको व्यापार आइतबारको भन्दा धेरै माथि छ ।

काठमाडौं बाहिर गएका दर्शक फर्किन थालेपछि यसको व्यापार राजधानीमा बढेको छ । देशका अन्य मुख्य शहरमा पनि टिका मनाउन गाउँ गएका दर्शक फर्किए, जसकाकारण दर्शक हलमा बढेका छन् । चितवन, पोखरा, नेपालगञ्ज, विर्तामोडको व्यापारले यसको संकेत गर्छ ।

यो फिल्म चल्नुको मुख्यकारण यसको टिजर हो । ‘प्रेमगीत ३’ हेर्न आएका हाउसफूल दर्शकले यो फिल्मको टिजर रुचाएका थिए । टिजर हेरेर आकर्षित भएका दर्शक हलसम्म पुगे । अर्कोतिर, फिल्मका मुख्य कलाकार दयाहाङ राई र सौगात मल्लको अर्गानिक कमेडीले पनि दर्शकलाई तानेको छ । फिल्म हेरेका अधिकांश दर्शकले सौगातको संवाद र उनको हाउभाउलाई मन पराएको पाइयो ।

शुक्रबार फिल्म हेरेपछि मिडियामा आएका दर्शक प्रतिक्रिया र दर्शकको वर्ड अफ माउथले काम गरेको छ । छठसम्म पनि दर्शक चाडपर्वकै मुडमा हुन्छन् । यसैले, यो फिल्मलाई आजबाट अफिसहरु खुलेपनि असर नपर्ने निश्चित छ ।

एउटा रमाइलो र सन्देशमुलक कथामा फिल्म बनाएका कारण यसपटक दीपेन्द्र लामाको कथा भन्ने शैलीमा दर्शक रमाएका छन् । उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङ फिल्मका लागि प्लस भएका छन् । किरण नेपालीले सिमित लोकेशनमा कम खर्च गरेर फिल्म बनाएपनि दर्शकले यसको कथावस्तु, संवादलाई मन पराएका छन् । यसकारण, यो फिल्म चलेको छ ।