भुवन केसीको प्रश्न–‘प्रदीपको ‘प्रेमगीत’ बाहेक अरु फिल्म नचल्नुमा मेरै हात थियो त ?
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा समेत मागेका नायक प्रदीप खड्काले उनको योग्यतामाथि पनि प्रश्न उठाए । यतिसम्म कि, घुमाउरो तरिकाले प्रदीपले यो बिषयमा नायक अनमोल केसीलाई पनि जोड्ने प्रयास गरे । यो बिषयमा अनमोल केसीले कुनै पनि जवाफ दिएका छैनन् । तर, विकास बोर्ड अध्यक्ष भुवन केसी भने आफूमाथि लागेका आरोपबारे मिडियासँग जवाफ दिन थालेका छन् ।
भुवनले प्रदीप खड्काले विकास बोर्डले हलमा शो नदिएको भन्दै लगाएको आरोपको खण्डन गरेका छन् । उनले, विकास बोर्डको काम फिल्मलाई शो दिनु नरहेको पनि स्पष्ट पारेका छन् । भुवनले ठट्यौली शैलीमा भने–‘हिजो प्रकाशले शो नपाउँदा विकास बोर्डले दिएन भन्नुभयो । आज प्रेमगीत ३ ले शो पाउँदा भुवन केसीले दियो भन्नुभएन नी ।’
भुवनले प्रदीप खड्काको ‘प्रेमगीत’को सिरिजबाहेक अरु फिल्म नचलेको भन्दै ती फिल्म नचल्नुमा पनि आफ्नै दोष हो र भनेर प्रश्न गरेका छन् । उनले भने–‘आज विकास बोर्डमा म भएकाले प्रकाश नचलेको भन्नुभयो । तर, प्रदीपको स्केप, रोज लगायतका फिल्म नचल्दा बोर्डमा म थिएँ त ? अनी ती फिल्म मेरै कारणले नचलेका हुन् त ?’
केसीले नायक खड्काले राजा त फालियो, भुवन केसी को हुन् र ? भनेर दिएको तर्कको पनि जवाफ दिएका छन् । भने–‘उहाँले राजा त फाल्नुभयो । भोली प्रधानमन्त्री, मन्त्री, आइजी फाल्नुहोला । विकास बोर्ड अध्यक्ष त के होला र ? मलाई हटाउन सक्नुहोला ।’
नायक केसीले ‘प्रेमगीत ३’को हिन्दी भर्सन कम्पनी कर चुक्ता नगरेका कारण सेन्सरमा ढिलाई भएको पनि स्पष्ट पारेका छन् । आफूले ‘प्रेमगीत ३’को नेपाली भर्सन त एउटा निर्माताको दुःख संझेर कम्पनी कर चुक्ता नगरेको अवस्थामा पनि सेन्सर पासका लागि अनुमति दिएको स्पष्ट पारेका छन् ।
प्रतिक्रिया