मधुले खुट्टा ढोगेको तस्वीरले हमालका फ्यान २ कित्तामा विभाजित

नेपाली फिल्म क्षेत्रका चर्चित नायक राजेश हमाललाई ‘महानायक’ मान्ने कि नमान्ने भन्ने बिषयमा फिल्म क्षेत्रमा बहस छ । तर, दर्शकमा छैन । दर्शक हमाललाई ‘महानायक’ मान्छन् । यो बिषयमा त सबै दर्शक एकतिर छन् ।

तर, दशैंको टिकाको एक तस्वीरले भने राजेश हमालका फ्यानलाई नै २ भागमा विभाजित गरिदिएको छ । नायक हमालले दशैंको टिका लगाउँदै गरेको तस्वीर पोष्ट गरे । उनले आधा दर्जन बढी तस्वीर पोष्ट गर्दा एउटा तस्वीर यस्तो थियो, जसले विवाद निम्त्यायो ।

हमालकी श्रीमति मधु भट्टराइले उनको खुट्टा ढोग्दै गरेको तस्वीरले बहस निम्त्यायो । कतिपयले यो उनीहरुको निजी जिन्दगीको कुरा भएको तर्क गरे । कतिपयले हमाल जस्ता बौद्धिक नायकले पनि श्रीमतिलाई खुट्टा ढोग्न लगाउने रहेछन् भन्दै आलोचना गरे ।

हुनत, श्रीमतिले खुट्टा ढोगेकै कारण आलोचित हुनेमा राजेश हमाल पहिलो भने होइनन् । यसअघि संचारकर्मी ऋषि धमला पनि पत्नी एलिजा गौतमले खुट्टा ढोगेकै कारण आलोचित बनेका थिए ।

नेपाली समाजले राजेश हमालको एक तस्वीरलाई लिएर बहस गरिरहेको छ । नायक हमाल आफैलाई असहज लागेको भए, मधुलाई जर्बजस्ती खुट्टा ढोग्न लगाइएको भए उनले तस्वीर नै सामाजिक संजालमा किन पोष्ट गर्थे होलान् र ?