भारतमा ‘प्रेमगीत ३’: निर्माताको आँकडा २ करोड, वास्तविक आँकडा १६ लाख

शुक्रबारदेखि भारतमा पनि रिलिज भएको नेपाली फिल्म ‘प्रेमगीत ३’का निर्माताले त्यहाँका ट्रेडलाई ठूलो अन्तरको बक्स अफिस आँकडा दिएको खुलेको छ । बलिउडका चर्चित ट्रेड तरण आदर्शले निर्माताले दिदै आएको आँकडा उल्लेख गर्ने गर्छन् । यसैले, कहिलेकाही कुनै कुनै फिल्मको व्यापारमा तरणले सार्वजनिक गर्ने आँकडा र वास्तविक व्यापारमा अन्तर देखिने गर्दछ ।

उनै, तरणले नेपाली फिल्म ‘प्रेमगीत ३’ले शुक्रबार ९५ लाखको नेट व्यापार भारतमा गरेको तथ्य सार्वजनिक गरे । तर, बक्स अफिस इन्डियाले भारतमा यो फिल्मको व्यापार निक्कै कमजोर रहेको उल्लेख गरेको थियो ।

पछिल्लो समय बक्स अफिस आँकडा नयाँ यूवा पत्रकारहरुले पनि सार्वजनिक गर्न थालेका छन् । बक्स अफिस इन्डियाले यो फिल्मले शुक्रबार १० लाख र शनिबार ५ लाखको व्यापार गरेको आँकडा सार्वजनिक गरेको छ ।

यस्तै, पिंकभिल्लामा काम गर्ने पत्रकार हिमेशले पनि दुई दिनमा यो फिल्मले १६ लाखको व्यापार भारतमा गरेको उल्लेख गरेका छन् । दुई दिनमा भारतमा नेपाली फिल्म ‘प्रेमगीत ३’ले १६ लाख रुपैयाँ कमाएको तथ्य सार्वजनिक भएको छ ।

योसँगै यो फिल्मका हिन्दी निर्माता सुभाष कालेले फिल्मको व्यापारमा ठूलो अन्तर सार्वजनिक गरेको खुलेको हो । सुभाषले २ दिनमा भारतीय बक्स अफिसमा यो फिल्मले १ करोड ९७ लाखको ग्रस कलेक्शन गरेको आँकडा त्यहाँका केही ट्रेडलाई दिएका छन् ।