बक्स अफिस इन्डियाः भारतमा ‘प्रेमगीत ३’ ले कमाउन सकेन
शुक्रबारदेखि रिलिजमा आएको नेपाली फिल्म ‘प्रेमगीत ३’ भारतीय बक्स अफिसमा पहिलो दिन असफल भएको बक्स अफिस इन्डियाले उल्लेख गरेको छ । बक्स अफिस इन्डिया लेख्छ–‘यो नेपाली फिल्म ‘प्रेमगीत ३’का लागि सुखद समाचार होइन । यो फिल्मको प्रचार भारतमा राम्रोसँग गरिएको थियो । तर, फिल्मले कमाई गर्न सफल भएन ।’
बक्स अफिस इन्डियाले नेपाली फिल्मको आँकडा समेत सार्वजनिक गरेको छैन । यसको अर्थ, फिल्मको कमाई निक्कै नै कमजोर रहेको वुझ्न सकिन्छ । भारतका मल्टिप्लेक्स चेनमा गतिलो शोज नपाएको फिल्मले भारतीय बजारमा नेपाली फिल्मको क्रेज बनाउने अपेक्षा थियो । सन्तोष सेन र उनको टिमले प्रचार प्रसार पनि राम्रो गरेको हो । तर, समीक्षकबाट गतिलो प्रतिक्रिया नआउँदा फिल्मको व्यापार निक्कै नै कमजोर रहन पुग्यो ।
फिल्मले नेपालमा भने राम्रो कलेक्शन गरिरहेको छ । बक्स अफिस इन्डियाले भारतीय बजारमा ‘अवतार’ पुनः रिलिज गर्दा शुक्रबार १.८५ करोडको कमाई गरेको उल्लेख गरेको छ । यस्तै, ‘धोका–राउन्ड दि कर्नर’ले शुक्रबार १.१५ करोड कमाएको बक्स अफिस इन्डियाले लेखेको छ ।
बक्स अफिस इन्डियाका अनुसार, फिल्म ‘चुप’ले पहिलो दिन ३ करोडको कमाई बक्स अफिसमा गरेको छ ।
प्रतिक्रिया