‘प्रेमगीत ३’: ब्रान्डले तान्यो, कथाले तानेन
पवन भट्टराई
शुक्रबारदेखि नेपाली फिल्म ‘प्रेमगीत ३’ आक्रामक व्यापारका साथ चलिरहेको छ । शुक्रबार भन्दा शनिबारको व्यापार अझै आक्रामक हुने पक्का छ । नेपाली फिल्मले दर्शकको यति धेरै माया पाउनु सुखद कुरा हो । यसपटक ‘प्रेमगीत ३’लाई यसको ब्रान्ड र प्रचारले खुबै साथ दियो । फिल्मको प्रचारका लागि यसको निर्माणपक्षले जुन खालको मिहिनेत गर्यो, त्यो आफैमा प्रशंसा गर्नलायक छ ।
शुक्रबार बिहानैदेखि भरिएका हलहरु शनिबार पनि खचाखच छन् । काठमाडौं भित्र र बाहिरको अवस्था हेर्दा, यतिबेला फिल्म हल प्रेमगीतमय भएको छ ।
तर, शुक्रबारबाटै फिल्म हेरेर हलबाट निस्कदै गर्दा दर्शकको अनुहारमा खुशी ल्याउन भने यो फिल्म असफल भएको छ । फिल्मको दर्शक प्रतिक्रिया कमजोर छ । सन्तोष सेन र छेतन गुरुङको निर्देशन फितलो बन्दा दर्शकले फिल्मको हाइप भए जस्तो फिल्म पाएनन् ।
४ बर्ष लगाएर निर्माण भएको फिल्मको कथा, प्रस्तुति, पटकथा, संवादमा खासै दम नहुँदा दर्शक निराश बने । फिल्म हेरेर फर्किएका अधिकांश दर्शक कि त क्यामेराको अगाडि बोल्न चाहँदैनन्, कि त ठिकै भन्ने प्रतिक्रिया दिइरहेका छन् । कतिपय दर्शकले भने मुखै खोलेर फिल्म कमजोर रहेको बताइरहेका छन् ।
बलिउड समीक्षक कोमल नाहटाले पनि फिल्मको कथा, पटकथा, संवाद, निर्देशकीयपक्ष निक्कै कमजोर रहेको प्रतिक्रिया दिए । फिल्मको छायांकन र संगीतलाई भने उनले उत्कृष्ट भनेका छन् ।
निर्देशक सन्तोष सेनले फिल्मका लागि कलाकारको डबिङ समेत ख्यालख्यालमा गरे जस्तो देखिन्छ । शिव श्रेष्ठ, मनिष राउत, कृष्टिना गुरुङको संवादले दर्शकलाई आकर्षित गर्दैन । प्रदीप खड्का फिल्ममा चकलेटी देखिएका छन् । तर, ‘प्रकाश’मा उनले गरेको अभिनयपछि ‘प्रेमगीत ३’ हेर्दा निराश बनाउँछन् ।
फिल्मको मुस्ताङको दृश्य उत्कृष्ट छ । फिल्मको मेकिङमा निर्माताले दुःख गरेका छन् । तर, फिल्म कता बगेको छ र निर्देशक के देखाउन खोजिरहेका छन् भन्ने नै स्पष्ट छैन । जसलेगर्दा, अघिल्ला २ सिरिज हेरेका दर्शकका लागि ‘प्रेमगीत ३’ ब्रान्ड भन्दा बाहेक केही पनि लाग्दैन ।
फिल्मका बिच–बिचमा आउने द्धन्द्धका दृश्य किन राखिएका हुन् दर्शक भेउ पाउँदैनन् । फिल्मको नाम ‘प्रेमगीत’ भएपनि दर्शकमा प्रेम र गीतको माया र विछोडमा कुनै महशुश नै हुँदैन । फिल्मले जब दर्शकलाई कथामा बाध्न सक्दैन, तब त्यसले मन छुन सक्दैन । लभ स्टोरी फिल्ममा मायालाई दर्शकले महशुश गर्न सक्नुपर्छ । तर, यो फिल्ममा प्रेम र गीतविचको प्रेमको महशुश कही कतै पनि छैन ।
सन्तोष सेन र उनको टिमले गरेको प्रयासलाई प्रशंसा गर्नैपर्छ । तर, एउटा ठूलो अवसर खेरा गएको छ । यो फिल्म राम्रो भैदिएको भए यसको बक्स अफिस कल्पना गर्न नसकिने खालको हुने थियो भन्ने प्रमाण त २ दिनको आक्रामक व्यापारले देखाइसकेको छ । तर, ‘प्रेमगीत ३’को जती हल्ला भयो त्यसअनुसार फिल्मप्रति दर्शकको आशा निराशामा बदलिन सक्छ ।
हिन्दी भाषामा डबिङ गरिएकाले केही हदसम्म फिल्ममा कलाकारले बोल्ने संवादमा दम होला । तर, नेपालीमा सन्तोष सेन र उनको टिम निक्कै चुकेको छ । यसको विस्तृत समीक्षा अर्को समाचारमा गर्नेछौं ।
प्रतिक्रिया