धिरज र अदितीको ‘बाबरी’ टिम बिर्तामोडदेखि पाेखरासम्म कर्न्सट गर्दै
फिल्म ‘बाबरी’ को प्रचार प्रसार तिब्र परिने भएको छ ।
आगामी असोज १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘बाबरी’ टिम प्रचारका लागि राजधानी बाहिरका ६ सहर डुल्ने भएको हो ।
निर्देशक सुरेन्द्र पौडेलले असोज ५ गते बिर्तामोडबाट सुरु गरिने मोफसल टुर देशका ६ ठुला सहरमा आयोजना गरिने जानकारी दिएका छन् । फिल्मको सार्वजनिक गीत संगीत र ट्रेलरले दर्शकमाझ राम्रो हाइप बनाएकाले पनि आफ्नो टिमले प्रचार प्रसारमा कमी हुन नदिन मोफसल टुरको आयोजना गरिएको निर्देशक पौडेलको भनाई छ ।
बाबरी टिम असोज ६ गते इटहरी, ७ गते नारायणगढ, ८ गते बुटबल र ९ गते पोखरामा दर्शक साक्षात्कार गरेर काठमाडौं फकिर्ने छ । यस्तै ९ गतेबाट १२ गतेसम्म काठमाडौंका विभिन्न ठाउँमा सांगितिक भव्य कन्सर्टको आयोजना गर्दै फिल्मको प्रचार गरिने निर्माण टिमले जानकारी दिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो फिल्म त्रिकोणात्मक प्रेमककथामा आधारित छ ।
फिल्ममा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।
ट्रेलर, गीत र स्टारकास्टका कारण चर्चामा रहेको फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । फिल्ममा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको छ । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, स्वयंम निर्देशक पौडेलले सम्पादन रहेको छ ।
प्रतिक्रिया