संगीतकार तथा स्याक्साफोन वादक शुभबहादुर सुनामको निधन

कुशल संगीतकार तथा स्याक्साफोन वादक शुभबहादुर सुनामको निधन भएको छ ।

उनको सोमबार बिहान बिहान पौन पाँच बजे उपचारका क्रममा सैनिक अस्पताल छाउनीमा निधन भएको हो । आईतवार राती अचानक लगातार खोकी लागेपछि उनलाई छाउनीस्थित सैनिक अस्पतालमा पुर्याइएको थियो । शुभबहादुरका नाती युवा संगीतकार तथा संगीत संयोजक एलिश कार्कीका अनुसार शुभबहादुरको रक्तचाप बढेको पाइएको थियो। मृगौला रोगसँग जुध्दै आएका शुभबहादुर केही समयदेखि डायोलोसिस गर्दै आइररहेका थिए ।

अन्तिम संस्कारका लागि शुभबहादुरको शव पशुपति आर्यघाट पु¥याईंदैछ भने अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीरलाई केही घन्टा आर्यघाटमा राखिने छ ।

७४ वर्षीय शुभबहादुरले ११ वर्षकै कलिलो उमेरमा नेपाली सेनामा ब्वाईज दर्जामा जागिर शुरु गरी जर्नेलसम्म भएका थिए। उनी सैनिक व्यान्डमा रही वाद्यवादन तथा संगीत सिर्जनका कार्यमा समर्पित रहेका थिए ।

रेलीमाई रेलीमाई, फुलै फुलको मौसम तिमीलाई, पिरती बस्योजस्ता गीतका संगीतकार शुभबहादुरले एक सयभन्दा बढी आधुनिक तथा एक दर्जन जति फिल्मी गीतमा संगीत सिर्जना गरेका छन् ।

शुभबहादुर स्याक्साफोन वादनका लागि परिचित रहेका छन् । ६ महिनाअघि मात्र पत्नीशोक व्यहोरेका उनको परिवारमा दुई छोरा एक छोरी छन्।