‘छक्का पन्जा ४’ फागुण १९ मा आएपछि ‘परस्त्री’ निर्मात्रीको आक्रोश
फागुण १९ गते एकपछि अर्को गर्दै तीन वटा फिल्मको प्रदर्शन मिति तोकियो । सुरुवातमा कार्तिक ४ बाट मिति सारेर फिल्म ‘परस्त्री’ फागुण १९ मा पुग्यो । यो फिल्म सोलो रिलिज हुने चर्चा चलिरहँदा यही मितिमा फिल्म ‘बर एन्ड बधु’को प्रदर्शन मिति तय भयो । यो फिल्मको मिति तोकिएलगतै अर्को फिल्म ‘बुलाकी’ पनि आउने पक्का भयो ।
तीन फिल्म आउँदासम्म यी तिनै जना निर्माता केही पनि बोलेका थिएनन् । तर, जब यही मितिमा फिल्म ‘छक्का पन्जा ४’ आउने भयो, त्यसपछि भने फिल्म क्षेत्रमा हलचल नै मच्चिएको छ ।
एउटा कुरा स्पष्ट के हो भने, ‘छक्का पन्जा ४’ले अन्य फिल्मको व्यापारलाई असर गर्छ । दीपकराज गिरीको फिल्म आउने भएपछि फिल्म ‘परस्त्री’की निर्मात्री शर्मिला पाण्डेले आक्रोश पोखेकी छिन् ।
उनले लेखेकी छिन्–‘हामीले फिल्म ‘परस्त्री’को डेट सबैभन्दा पहिले फागुण १९ मा घोषणा गरेका हौं । अहिले केही फिल्म पनि सोही मितिमा रिलिज गर्ने भनेर बजारमा हल्ला सुरु भएको छ । यो निरन्तर फिल्म निर्माण गरिरहेको हाम्रो टिमलाई हतोत्साही बनाउन र फिल्म उद्योगलाई धरासायी बनाउन गरिएका खेल हो । हामी हाम्रो फिल्मलाई तोकिएकै मितिमा रिलिज गर्ने जानकारी गराउँछौ ।’
उनले, फिल्म प्रदर्शनमा हुने बलमिच्याँईका बारेमा पनि उचित व्यवस्थापन विकास बोर्डले गर्ने अपेक्षा राखेकी छिन् । सुरज पाण्डेको निर्देशनमा तयार भएको यो फिल्ममा कोशिश क्षेत्री र शिल्पा मास्के मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया