नेपाली फिल्म क्षेत्रमा देखिएको ‘एकलकाटे’ प्रवृत्ती

नेपाली फिल्म क्षेत्रमा एक अर्काको सम्मान र इज्जत हराउँदै गएको कुरामा त अब दुईमत रहेन । विदेशी फिल्मले चिथोमिचो गर्यो भनेर आफ्नो फिल्म चल्दा मात्र कराउने र अरुको फिल्म चल्दा चुप लाग्ने प्रवृत्ती त अब नयाँ रहेन । फिल्म क्षेत्रमा आफ्ना लागि मात्र बोल्ने र अरुलाई पर्दा कानमा तेल हालेर बस्ने शैलीले यहाँ ‘एकलकाटे’ प्रवृत्ती देखिदैछ ।

‘चपली हाइट ३ देखि म यस्तो गीत गाउँछु २ हुँदै ए मेरो हजुर ४, प्रकाश, राधा’ लगायतका फिल्मका निर्माताले बोलेका पीडाहरु कसले सुन्यो ? उनीहरुले एक्लै बोले, एक्लै थन्किए । यहाँ कसैले आफ्नो भनाई स्पष्ट यही हो भनेर कहिले पनि बनाउँदैनन् । आफूलाई फाइदा के मा हुन्छ सोही अनुसार बोली फेर्ने प्रवृत्ती बढ्दै गएको छ ।

अब, फागुणको १९ गते फिल्म ‘छक्का पन्जा ४’ आउने पक्का भयो । यो मितिमा पहिले नै ३ वटा फिल्मको प्रदर्शन पक्का भएको थियो । फिल्म ‘बुलाकी’का मेकरले ‘छक्का पन्जा ४’का मेकरले आफूलाई राजा संझिएर मिच्न खोजेको आरोप लगाए । तर, यो आरोप लगाउँदै गर्दा उनले यो वुझेनन् कि, ‘बुलाकी’ले फागुण १९ को मिति पक्का गर्दा यही मितिमा २ फिल्म आउने पक्का भैसकेको थियो । आफू तेश्रो हुन जानेले अर्को चौथो हुन आयो भने कराउनुको कुनै तुक छ र ?

अब, ‘प्रकाश’ फिल्मको बिषयमा नै हेरौं । हल नपाएको भन्दै यसका कलाकार र मेकर कराउँदा सोही दिन रिलिज भएको अर्को फिल्म ‘राधा’को बिषयमा एक शब्द पनि बोलेनन् । बरु, ‘राधा’का मेकरले पाँच दिन पछि हल नपाएको भन्दै फिल्म हलबाट उतार्दा ‘प्रकाश’को टिमले साथ नदिएको गुनासो पोखे । हामी कतीसम्म ‘एकलकाटे’ भैसकेका छौ, वुझ्ने कहिले ?

अहिले एउटा विवाद निस्किएको छ, ‘प्रेमगीत ३’का लागि विकास बोर्डले राती ११ बजेपछि फिल्म रिलिज गर्न नपाउने नियम बसाल्यो । यस भन्दा अगाडि नै रहेको यो नियम नेपाली फिल्मको हकमा लागू भएको थिएन । विदेशी फिल्मका शो पनि साढे ११ बजेपछि थिएनन् ।

तर, एउटा साउथ फिल्मले आएर नेपाली फिल्ममाथि मात्र होइन, नेपाली नियम कानुनलाई नै मिचेर रातको १ बजे हलमा हैकम जमायो । सोही समयमा विकास बोर्डले एक्सन लिएको थियो । विकास बोर्डको सो समयको एक्सनमा ताली बजाउनेहरु अहिले विकास बोर्डले ‘प्रेमगीत ३’लाई मिच्न खोज्यो भनेर हल्ला गर्दैछन् । यो नियमको बिषयमा सबैलाई थाहा छ । तर, हामीमा देखिएको परिस्थिती हेरेर विचार बनाउने बानीले यहाँ काम गरेको छ ।

भोली यही परिस्थिती कुनै विदेशी फिल्मको हकमा लागू भयो र रातको १ बजे फिल्म हलमा लाग्यो भने विकास बोर्ड कहाँ छ भनेर कराउने पनि यीनै फिल्मीकर्मी हुन् ?

फिल्म भनेको फगत व्यापार मात्र होइन । फिल्मले नेपाली भाषा, संकृतीलाई पनि विश्वमाझ चिनाउँछ । हिन्दी डबमा तयार पारिएको ‘प्रेमगीत ३’ नेपालमा चलाउने या नचलाउने वितरक र निर्माताको कुरा भयो । तर, हिन्दी डब नेपाली दर्शकका लागि भन्दा पनि नेपाली भाषा नवुझ्ने विदेशमा बस्ने दर्शकका लागि तयार पारिएको हो भन्ने वुझ्नुपर्छ । नेपालमा दर्शकले नेपाली भाषामा नै फिल्म हेरे भने त्यसले नेपाली भाषा, संकृतीका लागि बढी फाइदा गर्छ ।

जेहोस्, फिल्म क्षेत्र ‘एकलकाटे’ बन्दै गएको छ । आफ्नो फाइदाका लागि विचार बदल्नेहरुको यहाँ ठूलो संख्या हाबी हुन थालेको छ । यसले, फिल्म क्षेत्रलाई एकजुट कहिले पनि बनाउँदैन । विदेशी फिल्मको थिचोमिचो भयो भनेर कोटा सिस्टमको कुरा मात्र गर्ने कि, त्यसलाई लागू गर्न सहयोग पनि गर्ने ? यस्तो ‘एकलकाटे’ प्रवृत्तीले फिल्म क्षेत्रलाई केही पनि फाइदा पुग्दैन ।

 

नोटः समाचारमा प्रयोग गरिएको तस्वीर सांकेतिक रुपमा मात्र प्रयोग गरिएको हो । समाचारको बिषयवस्तुसँग यो सम्बन्धित छैन ।