‘बाबरी’को विदेशमा उच्च माग, दक्षिण कोरियामा महंगोमा बिक्यो

फिल्मलाई राम्रो प्रचार गर्न सक्यो र ब्रान्ड बनाउन सक्ने हो भने नेपाली निर्माताले नेपाली हलबाट आउने रकममा मात्र भर पर्नु पर्ने अवस्था छैन । विदेशबाट पनि करोड बढी रकम फिल्मले कमाइरहेका छन् । यसैबिच, असोजको १४ गतेबाट रिलिज हुन लागेको नेपाली फिल्म ‘बाबरी’ पनि बिदेशमा धमाधम विक्री भैरहेको छ । अष्ट्रेलिया, हङकङपछि यो फिल्मलाई दक्षिण कोरियामा पनि विक्री गरिएको छ ।

केटिएम टू सियोल नामक कम्पनीका सिइओ यूविन श्रेष्ठले यो फिल्मको दक्षिण कोरिया अधिकार खिचेका हुन् । यो फिल्म पनि दक्षिण कोरियामा असोजको १४ गतेबाट नै रिलिज हुने निर्माता पुष्पलता वुढाथोकीले जानकारी दिइन् । उनले, अन्य देशमा पनि फिल्मको उच्च माग भएको बताइन् ।

सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको यो फिल्ममा धिरज मगर, धिरज नाडकर, अदिती वुढाथोकी लगायतका कलाकारको मुख्य भूमिका छ । गणेश बुढाथोकी र पुष्पालता वुढाथोकीको लगानी रहेको फिल्ममा सुष्मा गुरुङ सह–निर्माताको रुपमा छिन् । फिल्मका गीतसंगीतले बजारमा निक्कै चर्चा पाइरहेका छन् ।