‘छक्का पन्जा ४’को थ्रेट ‘परस्त्री, बर एन्ड बधु र बुलाकी’ले स्विकार्लान् ?
एउटा कुरा के स्पष्ट छ भने, बलिउडका खानका फिल्मसँग बरु नेपाली फिल्मले अब भिडन्त गर्न सक्ने अवस्था छ । तर, ‘छक्का पन्जा, कबड्डी र प्रेमगीत’का सिरिजसँग भिडन्त गर्दा अन्य फिल्मलाई फलामको चिउरा चपाए जस्तै छ । यसैले, पनि यी फिल्मका सिरिजसँग अन्य फिल्म भिडन्त गर्न तयार हुँदैनन् ।
तर, यसपटक ‘छक्का पन्जा ४’ले एकाएक फागुण १९ को मिति तय गरेपछि यही मितिमा आउने भनेर पक्का भएका ३ फिल्ममाथि थ्रेट उब्जिएको छ । यो मितिमा मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘बर एन्ड बधु’ आउने पक्का छ । आँचल शर्मा, विवेक कर्माचार्य यो फिल्मका मुख्य कलाकार हुन् ।
यस्तै, नरेन खड्का र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ पनि यही मितिमा आउँदैछ । यो फिल्मबाट पनि दर्शकले अपेक्षा गरेका छन् ।
सुरज पाण्डेको निर्देशनमा तयार भएको फिल्म ‘परस्त्री’ पनि यही मितिमा आउन तयार छ । कार्तिक ४ गतेबाट पोष्टपोन्ड गर्दै निर्मात्री शर्मिला पाण्डेले फागुपूर्णिमा रोजेकी थिइन् । कोशिश क्षेत्री र शिल्पा मास्के फिल्मका मुख्य कलाकार हुन् ।
यो मितिमा आउन तयार भएका ३ फिल्मका लागि अब बक्स अफिसको राजा मानिएको ‘छक्का पन्जा’को चौथो सिरिज थ्रेट बनेको छ । के यी तिनै फिल्म तोकिएकै मितिमा आउलान् या पर सर्लान् त्यो हेर्न बाँकी छ । तर, चारै वटा फिल्म आएको खण्डमा भने बक्स अफिसमा केही फिल्मलाई समस्या पर्ने निश्चित छ ।
प्रतिक्रिया