‘भागवत् गीता’मा धिरजको च्याप्टर क्लोज ?

फिल्म ‘भागवत् गीता’को छायांकन दशैंको फूलपातिबाट सुरु हुँदैछ । फूलपातिको दृश्यलाई समेत समावेश गर्दै एक गीतको छायांकन गरिने निर्माता सुनिल कुमार थापाले जानकारी दिए । झरना थापाको निर्देशनमा तयार हुने यो फिल्ममा नायक धिरज मगरसँग कुरा अगाडि बढाइएको थियो । तर, अब धिरजको च्याप्टर क्लोज भएको वुझिएको छ ।

धिरजले सुरुवातमा यो फिल्मका लागि ४० लाख पारिश्रमिक मागेका थिए । यहीबाट नै निर्माणपक्ष उनीसँग असन्तुष्ट थियो । तर, पछि २५ लाखमा काम गर्न धिरजलाई निर्माणपक्षले प्रस्ताव गरेको थियो ।

धिरजको चर्को पारिश्रमिकबाट असन्तुष्ट भएपछि अमेरिका हानिएका थापा परिवार नेपाल आएपछि भने उनीसँग कुरा गर्ने मुडमा छैनन् । केही दिन अगाडि धिरजले मिडिया कुराकानीमा आफूले फिल्मको स्क्रिप्ट नै नपाएको बताएका थिए ।

बुधबार एक कार्यक्रममा नायिका सुहाना थापालाई धिरज फिल्ममा हुन्छन् या हुँदैनन् भनेर सोधिएको प्रश्नमा उनले ‘उहाँ राम्रो कलाकार हुनुहुन्छ’ भनेर मात्र जवाफ दिएकी थिइन् । यसअर्थमा पनि धिरज र यो टिमको सम्बन्ध केही चिसिएको वुझ्न सकिन्छ । निर्माणपक्ष अब नयाँ नायक राखेर फिल्मको काम अगाडि बढाउने तयारीमा छ ।