‘कबड्डी ४ र झिँगे दाउ’को सन्देशः दर्शकलाई उपदेश नदेउ
यो बर्ष सिरिज हिट श्रृङ्खलालाई फिल्म ‘झिँगे दाउ’ले तोड्यो । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्म हिटको बाटोमा छ । करिब ३ महिना लामो असफलताको श्रृङ्खला तोड्दै यो फिल्मले दर्शकलाई हलसम्म तान्यो । ‘छक्का पन्जा ३’ हेरेपछि हलमै नगएका दर्शक पनि गाउँगाउँबाट हल पुगे ।
यो फिल्म चल्छ भनेर प्रदर्शक, फिल्मीकर्मी र मिडियाकर्मीले नै विश्वास गरेका थिएनन् । तर, अर्गानिक कथालाई व्यवसायिक धारमा ढालेर पाका निर्देशक देउजाले फिल्म बनाउँदा दर्शक हलमा फर्किए ।
घर घरमा हुने कथालाई देउजाले मनोरञ्जनमा पस्किए । साथै, अन्तिममा दर्शकलाई भावूक पनि बनाए । हरेकका आँखाबाट आँशु झर्यो । कारण एउटै थियो, सबैले कही नै कही फिल्ममा आफूलाई देखे र आफ्नो भोगाई वुझे ।
यो फिल्मबाट आशा नगरेपनि केही यस्ता फिल्म थिए, जसले दर्शक तान्छन् भन्ने विश्वास गरिएको थियो । तर, ती फिल्मले दर्शकलाई मनोरञ्जन भन्दा बढी उपदेश दिए । अनावश्य रुपमा कुनै कालखण्डको कथा ल्याएर दर्शकमाथि बोझ थोपर्ने कोशिश गरे । हलमा रमाइलोका लागि पुगेका दर्शकले फिल्मका हरेक दृश्यहरुलाई आफ्नै भावले वुझिदिनुपर्ने भयो । यसैले, ती फिल्म चलेनन् ।
‘कबड्डी ४’लाई बक्स अफिसमा ऐतिहासिक रेकर्ड राख्नुको कारण पनि यही थियो । यो फिल्मले पनि दर्शकलाई कही कतै उपदेश दिएन । बरु, दर्शकलाई हसाँयो, काजीको बिहेको कौतुहलतामा अन्तिमसम्म राख्यो । फिल्म हेर्ने दर्शकले दिमाग फ्रेस बनाएर फर्किएन पाए ।
फिल्म चल्नका लागि धेरै कुरा चाहिन्छ । तर, मुख्यकुरा फिल्म हेर्दा दर्शकले कथामा मनोरञ्जन त पाउनुपर्छ नै । उक्त कथामा कही न कतै आफूलाई पनि महशुश गर्नुपर्छ । यो बर्ष चलेका २ फिल्मले दिएको सन्देश यही नै हो ।
प्रतिक्रिया