आर्यन र कविताको ‘सायरा’ घोषणा, नेपाली र हिन्दी भाषामा बन्ने

फिल्म ‘सायरा’को आज घोषणा गरिएको छ । मंगलबार पाँच तारे होटलमा आयोजित पत्रकार सम्मेलनमा बलिउड निर्देशक बिशाल देसाईले निर्देशन गर्न लागेको लभ स्टोरी फिल्मको घोषणा गरिएको हो । यो फिल्मको छायांकन दशैंपछि सुरु हुनेछ । फिल्मलाई ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा खिचिनेछ ।

यो फिल्ममा भारतीय र नेपाली निर्माताको लगानी रहेनछ । फिल्मलाई नेपाली र हिन्दी दुबै भाषामा तयार पारिने र भारतमा पनि रिलिज गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो फिल्ममा नेपाली नायक आर्यन सिग्देल र डान्सर कविता नेपाली मुख्य भूमिकामा छन् । फिल्ममा भारतीय मोडल सुफिया सिद्दिकीको पनि मुख्य भूमिका रहनेछ । सुफियाले भिडियो सन्देशमार्फत फिल्ममा काम गर्न लागेकोमा खुशी व्यक्त गरिन् । डीबीआर मिडिया एन्ड मुभी प्रालिको प्रस्तुति र अष्ट्रेलियाको आइविल प्रोडक्शनको निर्माण सहकार्यमा यो फिल्म बन्न लागेको हो । रघु परियारको प्रस्तुतिमा तयार हुने फिल्ममा कार्यकारी निर्माता काजीमान अत्रेय र निर्माता पुष्कर झा छन् । यो फिल्ममा कथा पनि रघुकै छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यो फिल्मलाई शुभकामना दिए । उनले, विश्व बजारमा नेपाली फिल्म पुग्नुपर्ने भन्दै ‘सायरा’ले ठूलो व्यापार गर्ने आशा व्यक्त गरे ।

कार्यक्रममा नायक आर्यन सिग्देलले राम्रो कथामा बन्न लागेको फिल्ममा काम गर्न पाउँदा खुशी व्यक्त गरे । यस्तै, डान्सर कविता नेपालीले फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताइन् ।