आफूलाई बदनाम गर्न खोजिएको भन्दै भुवन केसी आक्रोशित
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मलाई सधै नै प्रदर्शकले प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । आज आयोजना भएको फिल्म ‘सायरा’को पत्रकार सम्मेलनमा उनले नेपाली फिल्मलाई ६० प्रतिशत शोज दिनुपर्ने बताए ।
तर, नेपाली फिल्मको हल बाँडफाँडामा विकास बोर्डले नै हस्तक्षेप गर्ने जस्तो गरि आफ्नो बदनाम गर्न खोजिएको उनको भनाई थियो । भुवनले भने–‘नेपाली फिल्मले सधै नै पहिलो प्राथमिकतामा हल पाउनुपर्छ भनेर म ४ दशकदेखि लडिरहेको छु । तर, यहाँ नेपाली फिल्म रिलिज हुँदा विकास बोर्डले नै हल नदिएजस्तो गरि मेरो बदनाम गर्न खोजियो । आजसम्म, विकास बोर्डले हल दिने भन्ने कुनै नीति छैन । तर, नेपाली फिल्मले ६० प्रतिशत शोज पाउनुपर्छ भन्ने मेरो भनाई सधै छ ।’
उनले, आफूले चलचित्र विकास बोर्डमा पुगेपछि यो बिषयमा निरन्तर पहल गरिरहेको पनि बताए । भने–‘यो बिषयमा मैले निरन्तर पहल गरिरहेको छु । चलचित्र विकास बोर्डले समस्या खडा गर्ने होइन, समाधान गर्ने हो । यसैले, आफ्नो अधिकारमा रहेर बोर्डले काम गर्छ ।’
भुवनले आफ्नै देशमा फिल्म निर्माताहरुले पराईको व्यवहार सहनुपरेको भन्दै सुरुवाती दिनमा नेपाली फिल्मले नै बढी शोज पाउनुपर्ने बताएका छन् । तर, यो कुरालाई विकास बोर्डसँग जोडेर आफ्नो बदनाम नगर्न उनले आग्रह गरे ।
प्रतिक्रिया