यी फिल्म, जसलाई हिट गीतले हिट बनाउन सकेन

‘आगो बिना बिँडी जल्दैन’ बोलको गीत हिट भयो । यो गीत हिट भएको फाइदा फिल्म ‘झिँगे दाउ’ले उठायो । हुनत, यो गीतको प्रयोग फिल्म भित्र गतिलो तरिकाले गरिएको छैन । तर, गाउँघरसम्म घन्किएको यो गीतले दर्शकको मन जित्यो । फिल्म चल्नमा केही न केही फाइदा यो गीतले पनि गर्यो ।

कुनै समय फिल्मको गीत हिट भयो भने फिल्म पनि हिट हुन्छ भनिन्थ्यो । तर, अहिले हिट गीतले फिल्मको व्यापारमा सहयोग गर्न छाडेका छन् ।

फिल्म ‘कृष्णलीला’को २ वटा गीत सुपरहिट भएका थिए । ‘अटुट बाचा र सिरानी भैदियोस्’ बम्पर चले । यी दुबै गीत सुपरहिट हुँदा फिल्मलाई पनि फाइदा होला भन्ने अपेक्षा निर्देशक दीपक वलीलाई थियो । तर, यो गीतले फिल्मको व्यापारमा कुनै मद्दत नै गरेन । फिल्म चलेन ।

भदौको १० गतेबाट रिलिज भएको फिल्म ‘राधा’को तीज गीत ‘राधा पियारी’ बम्पर हिट भयो । तीजमा सर्वाधिक धेरै घन्किएको गीत पनि यही नै हो । तर, यो गीत चलेपनि फिल्मलाई भने फाइदा भएन । फिल्म हेर्न हलसम्म दर्शक पुगेनन् । उल्टै, फिल्मका लागि शो नपाएको भन्दै निर्देशक सुवर्ण थापाले हलबाट फिल्म रिलिजको पाँचौ दिनमा उतारे । फिल्मको गीत हिट भएपनि फिल्म चलेन ।

फिल्म ‘सम्हालिन्छ कहिले मन’को ‘एक जरुरी कुरा छ’ बोलको गीत बम्पर हिट भयो । यो गीतले फिल्मको व्यापारमा भने खासै असर गरेन । फिल्मले अपेक्षित व्यापार गरेन । सुदर्शन थापा निर्देशित फिल्मको गीत हिट हुँदा फिल्म अपेक्षित चलेन । २ दिन इनिसियल राम्रो व्यापार गरेको फिल्म तेश्रो दिनदेखि उकालो लाग्न सकेन ।

गीतसंगीतले दर्शकमाझ फिल्मको बारेमा जानकारी त दिन्छ । तर, गीत नै हेर्न दर्शक हलसम्म पुग्न छाडेका छन् । यसका लागि मेकरले अब सामाजिक संजालमा गीतको पुरा अंश सार्वजनिक नगर्दा राम्रो हुने देखिन्छ ।