तिहारसम्मका यी फिल्म, जसको बक्स अफिसमा यस्तो हुनसक्छ व्यापार

भदौ महिनामा ‘माइकल अधिकारी, कृष्णलीला, प्रेमगञ्ज, राधा, प्रकाश, सम्हालिन्छ कहिले मन, झिँगे दाउ, ऐना झ्यालको पुतली र गोर्खा’ गरि ९ वटा फिल्म रिलिज भए । ९ वटा फिल्म मध्ये ‘झिँगे दाउ’ले नेपालबाट निर्माता सुरक्षित राख्ने देखिएको छ । अन्य फिल्मले नेपालमा लगानी सुरक्षित गर्न सकेनन् ।

‘प्रकाश’ औषत चल्यो भने अरु फिल्मको व्यापार १ करोड नजिक पनि पुग्न सकेन । यसरीहेर्दा, भदौ महिनामा क्लिन हिटको रुपमा ‘झिँगे दाउ’ मात्र देखिएको छ । अब, एक साता कुनै पनि नयाँ फिल्म रिलिज हुने छैनन् । त्यसपछि, फिल्मको लाइनअप कार्तिकको ११ गतेसम्मलाई छ ।

यसमा सबैभन्दा बढी प्रतिक्षा असोज ७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत ३’लाई लिएर छ । सन्तोष सेन र स्वर्गीय छेतन गुरुङको निर्देशनमा बनेको यो फिल्मले बक्स अफिसमा बम्पर ओपनिङ गर्ने पक्का छ । यस्तै, फिल्मको लाइफ टाइम कलेक्शन यसको बिषयवस्तुमा आधारित हुनेछ । तर, यो फिल्म व्यापारिक रुपमा सफल हुने आँकलन गर्न सकिन्छ ।

यसको एक सातापछि रिलिज हुन लागेको ‘बाबरी’ पनि अपेक्षित छ । तर, अघिल्लो सातामा रिलिज भएको ‘प्रेमगीत ३’ र असोज १४ मै रिलिज हुने हिन्दी फिल्म ‘बिक्रम बेधा र पीएसआई’का कारण सुरेन्द्र पौडेल निर्देशित ‘बाबरी’लाई केही समस्या पर्न सक्छ । बिषयवस्तु बलियो भएको खण्डमा यसले पनि ‘झिँगे दाउ’कै इतिहास दोहोर्याउन सक्छ ।

असोज २१ मा रिलिज हुन लागेको फिल्म ‘२ नम्बरी’को टिजर सार्वजनिक भएसँगै यसको प्रतिक्षा दर्शकमाझ छ । यो फिल्मले मल्टिप्लेक्समा सुखद कमाई गर्ने अनुमान गर्न सकिन्छ । दीपेन्द्र लामा निर्देशित फिल्ममा दयाहाङ राई र सौगात मल्ल जस्ता कलाकार छन्, जसलाई दर्शकले रुचाएका छन् ।

असोज २८ मा रिलिज हुन लागेको फिल्म ‘हिजो आजका कुरा’को कथा बलियो हुन आवश्यक छ । किनकी, यो फिल्म पनि हरेक साता रिलिज हुने फिल्मको घेराबन्दीमा पर्न सक्छ । तर, यो फिल्मको नाम ब्रान्ड हुनुको फाइदा भने छ ।
कार्तिक ४ मा रिलिज हुन लागेको फिल्म ‘के घर के डेरा’ निर्देशक दीपेन्द्र के खनालको ब्रान्डका कारण फाइदामा हुन सक्छ । तिहारको बिदाका कारण पनि यसलाई फाइदा छ । तर, यही मितिमा ‘छक्का पन्जा ४’ आउने चर्चा छ । यदि, यो फिल्म आएको खण्डमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म अप्ठ्यारोमा पर्न सक्छ ।

यही मितिमा फिल्म ‘नालापानी’ पनि रिलिज हुँदैछ । तर, यो फिल्मको प्रचार अहिलेसम्म निक्कै कमजोर छ । यसैले, ऐतिहासिक कथावस्तुमा बनेको फिल्मको लागि निर्देशक रिमेश अधिकारीले खुबै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
कार्तिक ११ गते रिलिज हुने फिल्म ‘महापुरुष’ अर्को आशातित फिल्म हो । प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल जस्ता कलाकारको अभिनय छ । बिषयवस्तु बलियो भएकाले गर्दा पनि यो फिल्मको व्यापार राम्रो हुन सक्छ ।

तर, हरेक साता फिल्म आउँदा दर्शकले सबै फिल्म हेर्न सक्ने अवस्था रहदैन । यसैले, यो भिडमा केही फिल्म भने पिसिने पक्का छ ।