ट्विटरमा ‘ब्रम्हास्त्र’लाई मिश्रित प्रतिक्रिया

एक दशक भन्दा लामो समय लगाएर निर्देशक अयान मुखर्जीले निर्देशन गरेको बलिउड फिल्म ‘ब्रम्हास्त्र’लाई सामाजिक संजालमा मिश्रित प्रतिक्रिया मिलेको छ । यो फिल्मलाई बलिउड समीक्षकले निराशाजनकदेखि राम्रो भनेका छन् ।

केही समीक्षकले यो फिल्मलाई निराशाजनक भन्दै गर्दा केहीले भने बलिउडलाई नयाँ गति दिनका लागि फिल्म सफल भएको बताएका छन् । अधिकांशले यो फिल्मको भीएफएक्सको खुलेर तारिफ गरेका छन् ।

२ घन्टा ४० मिनेट लामो फिल्ममा रणवीर कपुर र आलिया भट्टको प्रेम, ब्रम्हास्त्रको शक्तिको कथा बुनिएको छ । अयान मुखर्जीले यसपटक बलिउडलाई उच्च भीएफएक्सको बाटोमा लगेका छन् ।

फिल्ममा अमिताभ बच्चन, मौनी रोय मुख्य भूमिकामा छन् । बलिउड नायक साहरुख खान र साउथ स्टार नागार्जुना फिल्ममा विशेष भूमिकामा छन् । यो फिल्मको दोश्रो पार्टको नाम ‘देवा’ राखिएको छ । फिल्ममा रणवीर कपुर ‘शिवा’को भूमिकामा देखिएका छन् । रणवीरको शिवा उदय नै यो फिल्मको मुख्य कथा हो ।

ट्रेड समीक्षक तरण आदर्शले यो फिल्मलाई निराशाजनक भन्दा अन्य समीक्षकले भने एक पटक हेर्न लायक भनेका छन् ।