सोमबार हल बन्द गर्छौ, माग नसुनिए अझै कडा कदम चाल्छौंः चलचित्र संघ
नेपाल चलचित्र संघले सोमबार एक दिनका लागि हल बन्द गर्ने निर्णय गरेको छ । विगत केही समयदेखि चलचित्र क्षेत्रका केही व्यक्तिहरु तथा संघहरुले आफ्ना सदस्यहरुको मानमर्दन हुने गरि अनर्गल आरोप लगाएकोप्रति गम्भिर ध्यानाकर्षण भएको संघले जनाएको छ ।
संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘विगत केही समयदेखि आफ्नो व्यक्तिगत स्वार्थबाट अभिप्रेरित भई केही फिल्म क्षेत्रमा समूहहरुले हाम्रा सदस्यहरुप्रति अनर्गल रुपमा मानमर्दन हुने खालका अभिव्यक्ति र व्यवहार गर्ने, कोरोनाबाट आक्रान्त फिल्म क्षेत्रलाई सरकारबाट संरक्षण गर्नुको साटो फिल्म क्षेत्रलाई नै धराशायी बनाउने उद्देश्यले फिल्म आयातमा बाधा उत्पन्न गराउने, हाम्रो स्वतन्त्र व्यवसायप्रति नियन्त्रण गर्न खोज्ने, फिल्म जाँच पास गर्दा अनावश्यक दुःख दिने जस्ता कार्यहरु भैरहेका छन् ।’
यही कारणले यसको विरोध कसरी गर्ने भन्ने बिषय छलफलमा रहेकाले भोलीदेखि रिलिज हुन लागेका फिल्मको बुकिङ नखोलेको संघले विज्ञप्तीमा उल्लेख गरेको छ । संघले यी सबै कुराको विरोध गर्दै सोमबार सांकेतिक रुपमा नेपालभरका सम्पूर्ण सिनेमा भवनहरु बन्द गर्ने निर्णय समेत गरेको छ ।
आगामी दिनमा पनि संघका सदस्यहरुप्रति अर्नलग आरोप, बाधा अवरोधहरु कायम रहेको खण्डमा कडा आन्दोलनमा जाने समेत संघले चेतावनी दिएको छ ।
प्रतिक्रिया