‘ऐना झ्यालको पुतली’ निर्देशकको गुनासो–‘कुन हलमा कुन समयमा जाउँ’ ?
बिडम्बना नै भन्नुपर्छ, नेपाली फिल्ममाथि नेपाली प्रदर्शकको रवैया यतिसम्म छ कि, उनीहरु विदेशी फिल्मलाई काखा र स्वदेशी फिल्मलाई पाखा बनाइदिन्छन् ।
भोली शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘ऐना झ्यालको पुतली’माथि प्रदर्शकले गरेको चरम विभेदले उनीहरु नेपाली फिल्ममाथि कती निर्मम छन् भन्ने प्रष्ट हुन्छ । मिडियामा जे जस्ता स्पष्टिकरण दिएपनि उनीहरुको गतिविधीले नेपाली फिल्ममाथिको चरम विभेद प्रष्ट हुन्छ ।
हिन्दी फिल्म ‘ब्रम्हास्त्र’ सेन्सर नभएर नेपाली फिल्मले आफ्नै देशमा शोज नपाउनु, यो भन्दा बिडम्बना अरु के हुन सक्छ होला र ?
फिल्म ‘ऐना झ्यालकी पुतली’का निर्देशक सुजित बिडारीले यस्तै गुनासो गर्दै ‘कुन हलमा कुन समयमा फिल्म हेर्न जाने’ भनेर प्रश्न गरेका छन् । उनले लेखेका छन्–‘भावनात्मक कुरा गरेर फिल्म चल्दैन । फिल्म चल्नका लागि दर्शक हलसम्म पुग्नुपर्छ । अवस्था यस्तो छ कि, एउटा हिन्दी फिल्मको सेन्सर नभएको कारणले हामीले भोली रिलिज हुँदै गरेको हाम्रो फिल्मको शो समय अहिलेसम्म पाउन सकिरहेका छैनौं । कुन हलमा कुन समयमा जाउँ ?’
उनले साथीभाइहरुलाई पनि जवाफ दिन नसकिरहेको उल्लेख गरेका छन् । उनले, एउटा शो एफक्युबमा खुलेको भन्दै फिल्म बाँच्नुपर्छ जस्तो लाग्छ भने सोही समयमा भेट्न आग्रह गरेका छन् ।
नेपाली फिल्मका निर्माताको यो क्रन्दन कसले सुन्ने ? चलचित्र विकास बोर्ड कहाँ छ ? चलचित्र निर्माता संघ कहाँ छ ?
प्रतिक्रिया