एउटै वितरकले हिन्दी फिल्मको सेन्सर नहुँदा नेपाली फिल्ममाथि किन देखाए रवैया ?
नेपालमा मल्टिप्लेक्स हलहरुले बारम्बार नेपाली फिल्मलाई माया गर्छौ भनेर स्पष्टिकरण दिएपनि उनीहरुले नेपाली फिल्ममाथि गरेको पाखाको व्यवहार सबैमाझ छर्लङ्गै छ । तर, वितरकहरुको पनि नेपाली फिल्ममाथिको रवैया देखेर निर्माताहरु हैरान छन् । एउटै वितरकले एउटै मितिमा हिन्दी फिल्म ल्याउने र नेपाली फिल्म पनि रिलिज गरिदिने गर्छन् ।
फिल्म रिलिजको क्यालेन्डर मिलाउन नसक्ने हो र नेपाली फिल्ममाथि नै चरम अन्याय गर्ने हो भने फिल्म वितरण गर्नुको अर्थ के होला र ?
जस्तो भोली शुक्रबारदेखि फिल्म ‘ऐना झ्यालको पुतली’ रिलिज हुँदैछ । यो फिल्मलाई प्रचण्डमान श्रेष्ठको कम्पनीले वितरण गर्दैछ । तर, उनी प्रचण्डले हिन्दी फिल्म ‘ब्रम्हास्त्र’ पनि वितरण गर्दैछन् । अन्तिम समयमा यो फिल्म उनले नेपाल भित्राएका हुन् ।
तर, यो फिल्मको सेन्सर नभई बुकिङ खुलाउन नमिल्ने अडान चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले लिएपछि बिहिबार मात्र यो फिल्मको सेन्सर हुँदैछ । तर, यो फिल्मको सेन्सर नहुँदा नेपाली फिल्मले समेत शुक्रबारका लागि शोज पाएका छैनन् । एउटै वितरकले किन यति ठूलो रवैया देखाइरहेका छन् ?
हिन्दी फिल्म सेन्सर नभई नेपाली फिल्मलाई शोज दिनै नहुने हो र ? अझ, हलमा चलिरहेका नेपाली फिल्महरु ‘झिँगे दाउ, सम्हालिन्छ कहिले मन र प्रकाश’को पनि शुक्रबारको शोज बाँडफाँड भएको छैन । हलहरुले कुन फिल्मलाई कती शोज दिने भनेर आँकडा त बनाइसकेका होलान् । उसो भए नेपाली फिल्मको मात्र बुकिङ खुलाउन केले रोक्यो ?
शुक्रबारमात्र फिल्म रिलिज गर्नुपर्ने होइन भने आन्दोलन गर्ने भनेर चेतावनी दिएको चलचित्र निर्माता संघको ध्यान यता पनि जाओस् । किनकी, शुक्रबारदेखि रिलिज हुन लागेका २ नेपाली फिल्म र रिलिज भैरहेका ३ नेपाली फिल्म एउटा हिन्दी फिल्मको समस्यामा पर्न हुँदैन ।
प्रचण्डमान उनै निर्देशक हुन्, जसले ‘भिसा गल, लभ सभ’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । नेपाली फिल्म निर्देशन गरेका र नेपाली फिल्मका निर्माताको मर्का वुझेका व्यक्ति वितरक भएपछि किन यसरी फेरिएका होलान् ।
यदि, ठूलो हिन्दी फिल्म थियो भने एक सातापछि खाली भएको डेटमा नेपाली फिल्म रिलिज गर्न निर्मातासँग कुरा गरेको भए पनि हुन्थ्यो होला । तर, आफूले फिल्म बनाइन्जेल नेपाली फिल्मलाई वितरक र प्रदर्शकले माया गरेनन् भन्ने फिल्मीकर्मी नै आफू वितरक भएपछि नेपाली फिल्ममाथि चरम विभेद देखाउन थाल्छन् ।
प्रतिक्रिया