‘हिजो आजका कुरा’को ट्रेलर रिलिजमा हजुरआमालाई संझिएर रोइन् ऋचा

उसै त कुनै पीडामा परेको समयमा कलाकारको आँखाबाट आँशु झर्दा, फिल्म चलाउनका लागि रोएको भनेर आरोप लगाइन्छ । पूजा शर्मा, दीपाश्री निरौला, सोनम तोप्देनसम्म यो आरोपमा मुछिसकेका छन् । बुधबार आयोजना भएको फिल्म ‘हिजो आजका कुरा’को ट्रेलर रिलिज कार्यक्रममा नायिका ऋचा शर्माका आँखा रसाए । उनलाई केही बेर बोल्न नै गाह्रो भयो ।

कार्यक्रम संचालक नरेश भट्टराईले उनकी बिरामी हजुरआमाको अवस्था संझाइदिएपछि ऋचाको आँखाबाट आँशु झरे ।

ऋचाकी हजुरआमा निमोनियाका कारण केही दिनदेखि अस्पतालमा उपचार गराइरहेकी छिन् । ८४ बर्षिया हजुरआमाको अवस्थाले ऋचालाई भावुक बनाएको हो ।

कतिपयले कलाकारको संवेदनशिलतालाई कलाकारको फन्डाको रुपमा समेत वुझ्ने गर्दछन् । तर, ऋचाले फिल्म रोएर नचल्ने बताइन् । उनले, रोएर फिल्म ब्लकबस्टर हुने भए आफू लामो समयसम्म रुन तयार भएको तर्क गरिन् । उनले, पछिल्लो समय त रोएर फिल्म चल्न छाडेको समेत बताइन् ।