‘ब्रम्हास्त्र’ सेन्सर नहुँदा नेपाली फिल्मको बुकिङ समेत खुलाइएन

बुधबार बेलुकी ६ बजेसम्म पनि शुक्रबारदेखि रिलिज हुन लागेको नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’को बुकिङ खुलेको छैन । शुक्रबारदेखि नै बलिउड फिल्म ‘ब्रम्हास्त्र’ पनि रिलिज हुँदैछ । यो फिल्मको सेन्सर पास नभैसकेकाले बुकिङ नखुलाइएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले सेन्सर पास नभएसम्म बुकिङ खुलाउन नपाइने बताएपछि यसका वितरक पछि हटेका हुन् । होइन भने नेपालमा सेन्सर नै नगरि हिन्दी फिल्मको बुकिङ खुल्थ्यो ।

तर, उदेकलाग्दो कुरा के छ भने हिन्दी फिल्म सेन्सर पास नभएकाले बुकिङ खुलेको छैन । तर, नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’को सेन्सर पास भैसकेको छ । यदि, हुँदा पनि यो फिल्मका लागि शो दिएर बुकिङ किन नखुलाइएको हो ?

कुनै पनि मल्टिप्लेक्सले यो फिल्मका लागि शोज बाँडफाँड गरेका छैनन् । किन उनीहरु हिन्दी फिल्मको शो दिने समय कुरेर बसेका छन् । कुनै फिल्मको सोमबार नै बुकिङ खुलाउने प्रदर्शकहरु नेपाली फिल्मको बुकिङ खुलाउन पनि हिन्दी फिल्मको सेन्सर कुरेर किन बसेका होलान् ।

हिन्दी फिल्मको सेन्सर भएपछि शोज दिएर बुकिङ खुलाउन सकिन्छ । तर, सेन्सर पास भैसकेको नेपाली फिल्ममाथि यो विभेद किन ?