‘ऐना झ्यालको पुतली’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भदौको २४ गते अर्थात शुक्रबारबाट रिलिज हुन लागेको १ घन्टा २८ मिनेट लामो फिल्म ‘ऐना झ्यालको पुतली’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । सोमबार नै गरिएको प्रिमियरमा बालापनको कथा भन्ने यो फिल्मलाई फिल्मीकर्मी र पत्रकारले उत्कृष्ट प्रतिक्रिया दिए ।

फिल्म हेर्न पुगेका कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, प्रकाश सपुत, केकी अधिकारी, दिव्य देव लगायतले बालापन याद गराएको र कथावस्तु भन्ने शैली उत्कृष्ट भएको बताए । सुजित भण्डारीको निर्देशनमा तयार भएको यो फिल्मले एउटा आमाले छोराछोरीलाई पढाउनका लागि सुन बेचेको कथा भन्छ । साथै, फिल्मले छाउपडी र बालबिबाहको कथा समेत भन्छ ।

फिल्मले वि.सं २०४७ सालदेखि वि.सं २०५२ साल भित्रको कथा भन्छ । सो समयमा हुने बालापन र उनीहरुको क्रियाकलपाले अहिलेका धेरै यूवालाई विगतमा फर्काउँछ । फिल्मको कथा भन्ने शैली गज्जब छ । बालापनका साना–साना कुरालाई सुजितले उत्कृष्ट तरिकाले बुनेका छन् ।

फिल्ममा सिरु बिष्टले आमाको भूमिका निर्वाहा गरेकी छिन् । कञ्चन चिमरिया, दिनेश खत्री फिल्मका मुख्य कलाकार हुन् । उनीहरुले उत्कृष्ट काम गरेका छन् ।

लामो समयपछि नेपाली फिल्मले अर्को उत्कृष्ट कथा पाएको छ । प्रिमियर अगाडि खासै चर्चा नपाएको यो फिल्मले प्रिमियरपछि भने चर्चा बटुल्न सफल भएको छ ।