माओवादीप्रति लक्षित भन्दै ‘प्रकाश’ हेरेर शिक्षा मन्त्रीको आपत्ती, प्रचण्ड गएनन्
भदौको १० गतेबाट रिलिज भएको फिल्म ‘प्रकाश’ हेर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भन्दै खबर सार्वजनिक भएको थियो । बुधबार प्रचण्ड फिल्म हेर्न आउने भन्दै केही नाम चलेका अनलाइनमा समाचार पनि आयो । प्रचण्डलाई यसका निर्माता महेन्द्र अधिकारीले भेटेर फिल्म हेर्न निम्तो दिएका थिए । प्रचण्ड फिल्म हेर्न आउन तयार पनि थिए । तर, माओवादी जनयुद्धलाई गलत तरिकाले यो फिल्ममा देखाइएको छ भन्ने खबर पाएपछि प्रचण्डले फिल्म हेर्ने सेड्यूल रद्द गरेको वुझिएको छ ।
प्रचण्ड नआएपनि शनिबार माओवादी केन्द्रका नेता तथा शिक्षा मन्त्री देबेन्द्र पौडेल फिल्म हेर्न काठमाडौंको विश्ज्योती हल पुगे । तर, फिल्म हेरिसकेपछि पौडेल खुशी देखिएनन् । यो फिल्मले माओवादी जनयुद्धलाई गलत तरिकाले ब्याख्या गरेको भन्दै उनले आपत्ती जनाए । उनले, यो फिल्मले शिक्षाको अवस्था भन्दा पनि १० बर्ष जनयुद्ध लडेको माओवादी पार्टीप्रति लक्षित गरेर कथा बुनेको र राजनीतिक पूर्वाग्रहसहित फिल्म निर्माण भएको बताए । उनले, फिल्मले शिक्षाको मुद्दा भन्दा कुनै पार्टीप्रति पूर्वाग्रह राखेको भन्दै आपत्ती जनाएका थिए ।
उनले प्रतिक्रिया दिदै भने–‘मैले फिल्म हेर्दा शिक्षासँग भन्दा पनि एउटा आस्थासँग र राजनीतिसँग सम्बन्धित देखेँ । फिल्मभित्र देखाइएको कम्यूनिष्ट पार्टीको झण्डा, त्यहाँ प्रस्तुत भएको बिम्ब, गलत काम गर्नेलाई जनयुद्ध लडेको पार्टीबाट निर्वाचन जितेको देखाइएको छ । यसको सन्देश शिक्षासँग भन्दा पनि कुनै एक राजनीतिक दलसँग सम्बन्धित भएर फिल्म निर्माण भएको वुझेँ ।’
उनले, यो फिल्म एउटा आन्दोलनसँग जोडिएको भन्दै कथामा देखाइएको कुरा कती वास्तविक हो भनेर स्थानीय जनताले नै फैसला गर्ने बताए । उनले, आज पनि जनयुद्ध लडेको पार्टीप्रति नै जनताको विश्वास भएको जिकिर गरे ।
फिल्मले नेपालको शिक्षाको अवस्था र स्तर देखाएको छ । तर, शिक्षा मन्त्रीले ४० बर्ष अगाडिको कुरा ल्याएर अहिलेको जस्तो गरि देखाउन नहुने तर्क समेत गरेका छन् । उनले, फिल्म राम्रो बनेको पनि बताए ।
दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्म दोश्रो सातामा चलिरहेको छ । फिल्मले एक सातामा ९० लाखको ग्रस कमाई गरेको बक्स अफिस आँकडामा उल्लेख छ ।
प्रतिक्रिया