‘सम्हालिन्छ कहिले मन’को इनिसियल व्यापारले पूजालाई फाइदा, सोनम चम्किए
गतबर्ष कोरोना महामारीपछि फिल्महरुले गतिलो व्यापार गर्न नसकिरहेको समयमा निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले मिलेर बनाएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज भयो । यो फिल्म चलेपछि नेपाली फिल्मले केही राहत महशुश गर्यो । यो बर्ष पनि यस्तै अवस्था थियो । फिल्म ‘कबड्डी ४’को बम्पर व्यापारपछि नेपाली फिल्मको व्यापार सुस्तायो । एउटै प्रकृती र उस्तै सेटिङका फिल्म रिलिज हुँदा दर्शक हलसम्म जान छाडेका थिए ।
तर, शुक्रबार फेरि नेपाली फिल्मका हलहरुमा दर्शकको भीड देखियो । शनिबार उक्त भीड आक्रामक देखिएको थियो । शुक्रबारदेखि रिलिज भएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ले काठमाडौंका हलमा आक्रामक व्यापार गरेपछि प्रदर्शकहरु पनि केही खुशी देखिए । शनिबार त काठमाडौंका जुन हलमा पुग्दा पनि फिल्म हेर्ने दर्शकको भीड नै थियो । अष्टनाराण हलमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र नव–नायक सोनम तोप्देन पुग्दा दर्शकको बाक्लो भीडले घेरेको थियो ।
नेपाली फिल्ममा लामो समयदेखि दर्शकको उपस्थिती घटेपछि निराश देखिएका प्रदर्शकहरु केही हदसम्म खुशी देखिए ।
यो फिल्मले २ दिन आक्रामक व्यापार गरेको छ । दर्शक केही हदसम्म भएपनि हलमा तानेको छ । यो बर्ष नै रिलिज भएको फिल्म ‘संझना विर्सना’को खराब इनिसियल व्यापारले नायिका पूजा शर्माको स्टारडममाथि प्रश्न उठेको थियो । तर, उनले ‘सम्हालिन्छ कहिले मन’बाट क्रेज पुष्टी गरेकी छिन् ।
आजबाट फिल्म आफै बोल्न सक्यो भने चल्छ, होइन भने यसको व्यापार सुस्ताउँछ । लकडाउनपछि त फिल्म गतिलो भएन भने बलिडका सुपरस्टार कलाकारको फिल्मले पनि शुक्रबार नै पानी माग्न नसकेको अवस्था छ ।
यो फिल्म चल्दा नायिका पूजा शर्मालाई फाइदा भएको छ । इनिसियल व्यापारले पूजाको क्रेज उस्तै छ भन्ने पुष्टी गरिदिएको छ । नायक आकाश श्रेष्ठको पनि आगामी फिल्मलाई यसले सजिलो बनाइदिन सक्छ ।
सबैभन्दा बढी फाइदा नव–नायक सोनम तोप्देनलाई भएको छ । सोनमको अभिनयको समेत चौतर्फी प्रशंसा भैरहँदा २ दिनको दर्शकको उपस्थितीले उनलाई अगाडि बढ्न सहज हुने देखिन्छ । अझ, सोनमकै कारण बौद्ध धर्माबलम्बीहरुको बाक्लो भीड विशेषगरि एफक्यूब हलमा देखिएको छ ।
सुदर्शन थापा निर्देशित यो फिल्मलाई एबी प्रोडक्शनले नै निर्माण तथा वितरण गरेको हो ।
प्रतिक्रिया