कस्तो छ ‘सम्हालिन्छ कहिले मन’ ?
फोटाग्राफीमा रुची राख्ने सोनम तोप्देन(रोमन) । बेलायतमै हुर्किएर परिवारसँग रमाउँदै आएकी पूजा शर्मा(श्रेया) । यी दुइको भेट भएसँगै फिल्म ‘सम्हालिन्छ कहिले मन’को कथा सुरु हुन्छ । उनीहरुको मित्रता बलियो बन्दै जाँदा श्रेया र रोमनले एक अर्कालाई मन पराउन थाल्छन् । तर, दुबैले आफूहरुलाई साथी मात्र भन्दै आएका हुन्छन् ।
सोही समयमा एउटा अन्तरराष्ट्रिय कम्पनीका मालिक धिरेन शाक्यका छोरा आकाश श्रेष्ठ(शतिष)को भेट श्रेयासँग हुन्छ । श्रेयालाई पनि शतिष मन पराउन थाल्छ । श्रेया, शतिष र रोमनविचको मित्रता बाक्लिदै जान्छ । उनीहरु श्रेयाको परिवारसँग पनि नजिक हुन्छन् ।
तर, श्रेयाले नयाँ बर्षमा राखेको प्रेम प्रस्तावलाई रोमनले स्विकार गर्दैन । शतिषले रोमन र श्रेयाको प्रेम देखेर आफूले प्रेम प्रस्ताव राख्न सक्दैन ।अब, श्रेया कसकी हुन्छिन्, रोमनले किन प्रेम प्रस्ताव स्विकार गर्न सक्दैन ? यी सबै कुरा वुझ्नका लागि तपाइले शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ हेर्नुपर्छ ।
सबल पक्ष
यो फिल्मको सबल पक्ष यसको छायांकन हो । सौरभ लामाले बेलायत, दुबई र नेपालको दृश्यलाई पर्दामा गज्जबले उतारेका छन् । हरेक फ्रेमले आँखा शित्तल बनाउँछ । लोकेशनलाई क्यामेरामा कैद गर्न सौरभ र निर्देशक थापाको मिहिनेत गज्जब छ ।
फिल्मको अर्को सबल पक्ष यसको गीतसंगीत हो । फिल्ममा समावेश ४ वटा गीतले दर्शकलाई भुतुक्कै बनाउँछ । अर्जुन पोखरेल र सुगम पोखरेलको गीतले दर्शकलाई फिल्ममा बाँधेर राख्छ । फिल्मको क्लाइमेक्स बलियो छ । यस्तै, मध्यान्तर भन्दा अगाडिको दृश्यले पनि दर्शकलाई कौतुहलता जगाउँछ ।
फिल्ममा श्रेया, रोमन र शतिषको मित्रता बलियो तरिकाले देखाइएको छ । श्रेयाले कसको प्रस्ताव स्विकार गर्छिन् भन्ने उत्साहले दर्शकलाई बाधिराख्छ ।
कमजोरी
फिल्ममा तिन साथीको मित्रताको एकहोरो कथा देखाइएको छ । गीतसंगीत र छायांकन बाहेक फिल्ममा अन्य केही पात्रसँग पनि जोडिएको भए हुन्थ्यो । तीन साथीको रमाइला पल र हाँसी मजाक फिल्ममा मिस हुन्छ । निर्देशकले उनीहरुको रमाइलो भन्दा गम्भिर अवस्थालाई बढी चित्रित गरेका छन् ।
फिल्म हेर्दै गर्दा मध्यान्तर लगतै यसको क्लाइमेक्स अनुमान लगाउन सकिन्छ । पटकथामा फिल्म केही कमजोर छ । जसलाई अझै बलियो बनाएको भए एउटा उत्कृष्ट लभ स्टोरी फिल्म बन्ने थियो ‘सम्हालिन्छ कहिले मन’ । अघिल्लो दिनमा हातमा मेहेन्दी लगाएकी श्रेयाको भोलीपल्ट नै हातबाट मेहेन्दी हराउनु पत्यार लाग्दैन । लण्डनको दृश्य खिच्दै गर्दा एनसेलको बोर्ड देखिनु निर्देशकको हेलचक्राई हो ।
अभिनय
यो फिल्ममा मुख्य तीन पात्र छन् । पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनले आफ्नो भूमिकालाई न्याय गरेका छन् । सोनम यो फिल्मबाट स्टारको रुपमा उदाएका छन् । आकाशलाई निर्देशकले जती भूमिका दिएका छन्, उनी त्यसमा सबल छन् । पूजा फिल्मको केन्द्रमा छिन् । फिल्ममा उनी नभएको दृश्य कमै मात्र होलान् । यसैले, पूजाको न्यारेशनमा नै यो फिल्म भनिएको छ । पूजाले आफूलाई लभ स्टोरी फिल्मको ‘रानी’ किन हुँ भनेर फेरि एक पटक पुष्टी गरेकी छिन् । सरोज खनाल, धिरेन शाक्य, गौरी मल्लको भूमिका कम छ । तर, उनीहरुले आफ्नो भूमिकामा न्याय गरेका छन् ।
समग्रमा
‘सम्हालिन्छ कहिले मन’ एउटा त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म हो । जसले मित्रता, प्रेम, रोमान्स, वियोग र त्यागलाई देखाउँछ । प्रेममा मानिस कुन हदसम्म जान सक्छ भन्ने कथा फिल्ममा छ । पटकथा बलियो बनाएको भए फिल्म अझै बलियो हुने थियो । ३ साथीको प्रेम र मित्रताको कथामा उड्न, लण्डनको रमणीय दृश्यमा रमाउन, अर्जुन पोखरेलको संगीतमा हराउन, सुदर्शन थापाको लभ स्टोरी कथालाई फरक तरिकाले भन्ने प्रयासलाई हेर्न तपाइले यो फिल्म हेर्न सक्नुहुन्छ । अझ, सोनम तोप्देनका लागि एक पटक अवश्य हेर्नुहोला ।
प्रतिक्रिया