हेलिकप्टरबाट पूजा, आकाश र सोनमले गरे ‘सम्हालिन्छ कहिले मन’को प्रचार
भोलीदेखि रिलिज हुन लागेको नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’को प्रचारमा केही यूनिक तरिका अपनाइएको छ ।आज काठमाडौंको त्रिभुवन विमानस्थलबाट फिल्मका मुख्य ३ कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन हेलिकप्टरबाट चोभार पुगेका थिए । चोभारमा ल्यान्ड भएको हेलिकप्टरबाट फूल बर्साइएको थियो ।
चोभार नेपाली फिल्म छायांकनका लागि सबैभन्दा चर्चित स्थान हो । पछिल्लो समयमा चोभारमा कमै मात्र फिल्म खिचिन्छ । तर, कुनै पनि चोभारमा फिल्मको क्लाइमेक्स नखिचिए अधुरो नै देखिन्थ्यो । यसैले, आफूहरुले चोभारलाई रोजेको नायिका पूजा शर्माले बताइन् । हेलिकप्टरबाट उत्रिएर तिन कलाकारले मिडियासँग कुराकानी गरेका थिए ।
नायिका शर्माले भनिन्–‘मलाई जहिले पनि अग्लो ठाउँबाट भगवान्को परिक्रमा गर्न मन थियो । हेलिकप्टर त दोश्रो कुरा भयो । तर, आज मन खुशी भएको छ । भगवान र दर्शकसँग हामीले आर्शिवाद लिएका छौं ।’
नायक आकाश श्रेष्ठले पनि एउटा उचाईमा पुगेर फिल्मको प्रमोशन गर्न पाउँदा खुशी लागेको बताए । उनले, फिल्म उत्कृष्ट बनेको भन्दै हेर्न दर्शकलाई आग्रह गरे ।
नव–नायक सोनम तोप्देनका लागि त यो फिल्म विशेष छ । पहिलो फिल्ममै आफूले पाएको मायाले भावुक बनाएको उनले बताए । एउटा राम्रो टिम भएका कारणले नै यो साथ र माया पाएको उनको भनाई थियो ।
एबी प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । सुदर्शन थापा निर्देशित फिल्मको बुकिङ समेत सुखद देखिएको छ । यसैले, फिल्मले सुखद व्यापार गर्ने अपेक्षा निर्माणपक्षको छ ।
प्रतिक्रिया