निर्माता संघको सम्पूर्ण कार्यसमिति नै निर्विरोध: अध्यक्षमा खड्का, महासचिवमा थापा
निर्माताहरुको छाता संस्था नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । यस्तै दुई उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको छ । महासचिवमा सुनिलकुमार थापा निर्वाचित भएका छन् ।
बुधबार भएको उम्मेदवारी मनोनयन प्रक्रियामा अरुकसैको पदमा दाबी नपरेपछि उनीहरु निर्विरोध चुनिएका हुन् । यस्तै उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई समेत निर्विरोध भएका छन् ।
संघको सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा चुनिएका छन् । सम्पूर्ण कार्यसमिति नै निर्विरोध भएपछि अब चुनाव नहुने भएको छ।
शनिबार हुने १६ औं वार्षिक साधारणसभामा नयाँ कार्यसमिति औपचारिक घोषणा हुने र नयाँ कार्यसमिति सदस्यहरुको सपथग्रहण शनिबार नै हुने भएको छ ।
प्रतिक्रिया