खल्ती र क्यूएफएक्सविच संझौता, पूजाले काटिन् पहिलो टिकट
डिजिटल एप खल्ती र देशकै सबैभन्दा ठूलो चेन भएको क्यूएफएक्सविच आज संझौता भएको छ । ललितपुरको लबिम मलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा खल्ती र क्यूएफएक्सका प्रतिनिधीले संझौता पत्रमा हस्ताक्षर गरे ।
अब, दर्शकले क्यूएफएक्स चेनका ११ वटा हलका लागि खल्तीबाट सहजै टिकट काट्न सक्नेछन् ।
यसका लागि ५० सेकेन्ड भन्दा बढी समय नलाग्ने खल्तीका प्रतिनिधीले बताए । नेपाली फिल्मको प्रमोशन र नेपाली फिल्मको टिकट काट्न दर्शकलाई सहज होस् भन्ने उद्देश्यले खल्तीले नयाँ सोच लिएर अगाडि बढेको बताइएको छ । खल्तीका सिइओ बिनय खड्काले नेपाली फिल्मप्रति दर्शकको चासो बढोस् र टिकट काट्न पनि सहज होस् भनेर आफूहरुले सहकार्य गर्दै आएको बताए । उनले, आगामी दिनमा खल्तीले नेपाली फिल्मको प्रमोशनका लागि नयाँ नयाँ सोच बनाउने समेत बताएका थिए ।
यसैविच, खल्ती एपबाट नायिका पूजा शर्माले आफू अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को पहिलो टिकट बुक गरेकी छिन् । कार्यक्रममा पूजाले खल्तीबाट कसरी सहजै ५० सेकेन्डमा फिल्मको टिकट काट्न सकिन्छ भनेर जानकारी समेत दिएकी थिइन् । उनले भनिन्–‘नेपाली फिल्म हेर्नका लागि बुकिङ गर्नुपर्ने, लामो लाइन बस्नुपर्ने, हतार हतार हल पुग्नु पर्ने झन्झटबाट अब दर्शकहरु मुक्त हुनुभएको छ ।
खल्तीले नेपाली फिल्मको प्रमोशनका लागि देखाएको चासोले खुशी बनाएको छ । साथै, क्यूएफएक्सले सधै नै नेपाली फिल्मलाई माया गर्दै आएको छ ।’
पूजा अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ शुक्रबारदेखि रिलिज हुँदैछ । यो फिल्मलाई क्यूएफएक्सले देशभरका हलमा २४ शोज उपलब्ध गराएको छ । नायिका शर्माले खल्तीबाट सहजै रुपमा फिल्मको टिकट काट्न दर्शकलाई आग्रह समेत गरेकी छिन् ।
प्रतिक्रिया