नाम मात्रको निर्माता संघ
भदौ १८ गते चलचित्र निर्माता संघको निर्वाचनको तयारी हुँदै गर्दा निर्माता संघमै सदस्य रहेका केही निर्माता भने फिल्म हलले शो नदिएको भन्दै हलबाट फिल्म उतारिरहेका छन् ।
५ बर्षे कार्यकालमा निर्माता संघको अध्यक्ष पद सम्हालेका आकाश अधिकारीले भदौ १८ गतेको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरिसके । नवल खड्काको मात्र अहिलेसम्म उम्मेदवारी आएको छ । तर, निर्माता संघको अध्यक्ष पदमा रहेका आकाश हुन् या आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका नवल नै किन हुन्, यी दुबैले निर्माताको यत्रो समस्या उठिरहँदा एक शब्द बोलेका छैनन् ।
सायद, नवल खड्का निर्विरोध भएनन् भने उनलाई ‘राधा, प्रकाश, ए मेरो हजुर ४ वा चपली हाइट ३’कै निर्माताको भोट आवश्यक पर्छ होला । तर, चुनावको समयमा खुबै चहलपहल गर्ने निर्माताहरु चुनावपछि भने निर्माताको बिषयमा बोल्न नै चाहदैनन् ।
फिल्म ‘राधा’का निर्माताले हलबाट नै फिल्म उतारेका छन् । शुक्रबारदेखि ‘प्रकाश’का निर्माता शोकै लागि लडिरहेका छन् । साउथ फिल्म नेपाल ल्याएर चलाउन पल्किएका वितरकहरु जुनसुकै हप्ता पनि बासी फिल्म ल्याएर खुलेयाम चलाइरहेका छन् । तर, मुख्य कुरा एकातिर छाडेर निर्माता संघले अन्य बिषयमा काम गरेको भन्दै आकाशले लामो स्टाटस नै लेखे ।
आखिर, नेपाली फिल्मका संघसंस्थाहरु नाम मात्रको लागि किन खोलिन्छ ? नाम अनुसारको काम नहुने हो भने संस्थाको निर्वाचनमा मात्र चहलपहल गरेर के अर्थ ?
प्रतिक्रिया