फेरिएका प्रदीपः पहिले फेसबुकमा गाली गर्ने, पछि व्यक्तिगत रुपमा नलिनु भन्दै फोन गर्ने

प्रदर्शकबाट नेपाली फिल्ममाथि भएको विभेदको बिषयमा नायक प्रदीप खड्काले यसपटक जुन खालको आक्रोश पोखे, त्यसले फिल्म क्षेत्रलाई तरंगित नै बनायो । यस अगाडि पनि यो खालको आक्रोश पोखिएका थिए, तर प्रदीपको जस्तो तरंगित नै बनाउने गरि आक्रोश देखिएको थिएन । यसैले, प्रदीपले यसपटक गरेको यो हिम्मतलाई सुखद मान्नुपर्छ ।

तर, आफ्नो फिल्मका लागि हिम्मत देखाइरहँदा प्रदीपले नेपाली फिल्म क्षेत्रमाथि देखाएको व्यवहारले भने धेरैलाई अचम्मित र दुःखीत बनाएको छ । २५ सय फिल्मीकर्मीमाथि उनले जसरी आगो ओकले, त्यो गलत थियो । नेपाली फिल्म टिकट काटेर हेर्न नै सक्नुहुन्न भने फिल्म नै नबनाउनुहोस् भनेर प्रदीपले बोल्दै गर्दा उनी आफै ‘राधा’को प्रिमियरमा उपस्थित हुन आवश्यक ठानेनन् । जबकी, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, खगेन्द्र लामिछाने र ‘राधा’का निर्देशक सुवर्ण थापा उनी अभिनित फिल्म ‘प्रकाश’को प्रिमियरमा उपस्थित भएका थिए । मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा ‘राधा’को मेकरले यो बिषयमा पनि चित्त दुखाएका थिए ।

फिल्म क्षेत्रमा आफ्नो मात्र फिल्म चल्नुपर्छ भन्ने सोचले प्रदीप लामो समय अगाडि जान सक्दैनन् । उनमा अरु फिल्मीकर्मीमाथि पनि सम्मानको व्यवहार हुन आवश्यक छ, जुन यसपटक देखिएन । प्रदीपको आक्रोश यसपटक उनको आलोचना गर्ने सबैमा देखियो । उनले दीपकराज गिरी, झरना थापा जस्ता सिनियर कलाकारलाई पनि विवादमा तान्ने प्रयास गरे ।

यतिमात्र होइन, उनले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई समेत अनावश्यक रुपमा यसपटक विवादमा तान्ने प्रयास गरेका थिए । विकास बोर्डले आयोजना गरेको सम्मान कार्यक्रममा नजानु प्रदीपको अर्को भूल थियो । उनले, फिल्म क्षेत्रलाई हेर्ने सर्वोच्च निकायलाई एउटा व्यक्तिसँगको अनावश्यक इगोको रुपमा जसरी हेरे त्यसले उनमा बढ्दै गएको घमण्डलाई दर्शाउँछ ।

यसपटक, उनी पत्रकारहरुमाथि पनि आक्रोशित देखिए । जबकी, उनको फिल्मलाई सबैभन्दा बढी साथ नै मिडियाकर्मीले दिएका छन् । पत्रकारलाई प्रश्न सोध्दा विगतका कुरा कोट्याएर तर्कहिन जवाफ दिने, सामाजिक संजालमा फिल्म नराम्रो छ भनेर लेख्नेलाई लामा लामा स्टाटस लेख्दै गाली गर्ने, प्रदीप जस्ता नायकका लागि शोभनिय थिएन ।

अचम्मका कुरो के छ भने, प्रदीपले गाली गरेका केही पत्रकारलाई पछि फोन गर्दै व्यक्तिगत रुपमा नलिन भन्दै आग्रह समेत गरेका छन् ।

समाचार लेखेका या उनको फिल्मलाई कमजोर छ भनेका मिडियाकर्मीलाई पहिले गाली गर्ने र पछि यो कुरालाई व्यक्तिगत रुपमा नलिनु हैं भन्दै फोन गर्ने प्रदीपको शैलीमा परिपक्कता देखिएन । एक पत्रकारले प्रदीपमा कंगना रनावत बन्ने भूत चढेको र आलोचना सुन्नै नसक्ने बानीको विकास भएको भन्दै स्टाटस नै लेखेका थिए ।

यो पटक प्रदीप पक्कै पनि दबाबमा थिए । तर, उनी जस्ता नायकले त्यो दबाबलाई मिडिया र दर्शकसामु आक्रोशको रुपमा व्यक्त गर्न हुदैनथ्यो । पक्कै, पनि फिल्म हलबाट पाएको पीडामा बोलेर तरंग छरेका प्रदीपले फिल्मीकर्मी र आलोचकहरुलाई देखाएको व्यवहारले कि त उनमा अपरिपक्कता छ भन्ने देखिन्छ कि त ‘प्रेमगीत ३’ भारतमा पनि रिलिज हुने भएपछि उनमा बढ्दै गएको चरम घमण्डको रुपमा वुझ्न सकिन्छ ।