‘राधा’ हलबाट उतार्नु बिडम्बनापूर्ण, प्रदर्शक किन मौन ?

नेपाली फिल्मले शो कम पाएको, प्राइम टाइममा शो नदिएको गुनासो त लामो समयदेखि सुनिदै आएको पनि हो । नेपाली फिल्मलाई दर्शक नै हलसम्म नआउने समयमा शो दिएर खुम्चाइदिने प्रदर्शकको नियत पनि देखिएकै हो । यस बिषयमा बेलाबखत नेपाली फिल्मका निर्माताले आवाज पनि उठाएका छन् । तर, जसलाई परेको छ उसले बाहेक अरुको आवाज यसमा जोडिएको छैन ।

तर, यो साता नेपाली फिल्म क्षेत्रका लागि अप्रिय घटना घट्यो । शुक्रबारदेखि रिलिज भैरहेको फिल्म ‘राधा’को निर्माणपक्षले हलले पक्षपात गरेको भन्दै हलबाट फिल्म नै उतार्ने निर्णय गर्यो । यो नेपाली फिल्मका लागि निक्कै नै बिडम्बनापूर्ण कुरा हो ।

किनकी, नेपालमा भारतीय फिल्मलाई जस्तो ओटीटी, सेटलाइट सुविधा छैन । यहाँ मेकरले कमाउने भनेको नै हलबाट हो । तर, सोही हलबाट नै विभेद भएको भन्दै मेकरले फिल्म उतार्दा पक्कै पनि यसले नेपाली फिल्म क्षेत्रलाई मर्माहत भने बनाएको छ । सौगात मल्ल जस्ता कलाकारले निर्माण गरेको फिल्म, समीक्षागत रुपमा पनि तारिफ पाएको फिल्मलाई प्रदर्शकले पक्षपात गरे । अर्को फिल्म ‘प्रकाश’का नायक चिच्चाएको भरमा शो थपिदिने मेकरले मौन बसेका ‘राधा’का मेकरमाथि पक्षपात गरे ।

एउटा फिल्म हलबाट शो नपाएको भन्दै उत्रिनु बिडम्बनापूर्ण छ । तर, यो बिषयमा प्रदर्शकको आधिकारिक धारणा नै सार्वजनिक भएको छैन । उनीहरु मौन छन् ।

हिन्दी फिल्मलाई पोस्दै आएको आरोप खेपेका प्रदर्शकले नेपाली फिल्ममाथि गरेको विभेदबारे मुख खोल्न आवश्यक छ । यो बिषयमा चलचित्र संघ बोल्न आवश्यक छ । होइन भने, नेपाली फिल्मका लागि प्रदर्शक सधै नै खलपात्रको रुपमा देखिनेछन् ।