‘सम्हालिन्छ कहिले मन’ले उपदेश दिदैँन, मनोरञ्जन दिन्छ : निर्देशक थापा
हामी कन्टेन्ट, कन्टेन्टमात्रै भन्छौं । तर मेकिङमा चुकिरहेका छौं । एउटा निर्देशकका रूपमा म कथालाई मात्रै फिल्म मान्दिँन । फिल्म भनेको निर्देशकको भिजुअल इम्याजिनेशन हो । त्यसलाई राम्रो बनाउन कथासहित अभिनय, सिनेमाटोग्राफी, एडिटिङ, साउन्ड, मेकअपलगायत सबै पक्षमा ध्यान दिन जरूरी छ ।
१७ भदौबाट प्रदर्शनमा आउने ‘सम्हालिन्छ कहिले मन’ले यी सबै कुरा उत्कृष्ट र चलनचल्तिको भन्दा फरक तरिकाले प्रस्तुत गरेको छ । बलिउडका ए ग्रेडका फिल्महरू जसरी निर्माण हुन्छन्, त्यही क्वालिटीमा हामीले यसलाई बनाएका छौं । ठूलो क्यान्भासमा खिचिएको छ ।
फिल्ममार्फत उपदेश, शिक्षा र प्रवचन दिने काम हामीले गरेका छैनौं । उपदेश र शिक्षा त हामीले अन्यत्रै लिइरहेका हुन्छौं । स्कुलमा पढ्छौं, कलेजमा पढ्छौं, गुरुहरूसँग सिक्छौं, काम गर्दै सिक्छौं, कोर्सबाहिरका प्रेरणादायी पुस्तक पढ्छौं । यति सबै गरिसकेपछि फेरि उपदेश लिनकै लागि पैसा तिरेर फिल्म किन हेर्ने ? हलसम्म किन धाइरहने ? भन्ने प्रश्न त आउँछ होला ? त्यसैले फिल्मको उद्देश्य दर्शकलाई मनोरञ्जन दिने हुनुपर्छ भन्ने मेरो बुझाई छ ।
‘सम्हालिन्छ कहिले मन’ले उपदेश दिदैंन, मनोरञ्जन गराउँछ । तपाई खाली दिमाग लिएर हलभित्र छिर्दै आरामदायी कुर्सीमा बसेर यो फिल्म हेर्दै यसैको संसारमा डुब्न पाउनु हुनेछ । तपाईको आँखाले फ्रेस फिल गर्नेछ, मस्तिस्कले आराम पाउनेछ । यति ग्यारेन्टी गर्नसक्छु । यस फिल्मको ९० प्रतिशत सुटिङ बेलायतमा गरिएको छ । बेलायतका सुन्दर पहाड, फाँट, समूद्र र दुबईका आलिसान महलहरू देखाएका छौं ।
कुनै पक्षमा चुक्न हुन्न भनेर हामीले सबैलाई राखेर पटक–पटक वर्कशप गरेका थियौं । नेपालका उत्कृष्ट कलाकार र प्राविधिकसँगै बलिउडमा काम गरेका प्राविधिकहरू पनि यस फिल्लममा संलग्न छन् । ट्रेलर र गीतहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले ठूलो क्यान्भासमा केही नयाँ गर्ने सोच सफल भएको अनुभव भइरहेको छ ।
हाम्रो टिमले शतप्रतिशत दिएको छ र निर्देशकका रूपमा म सबैको मेहिनतबाट खुसी छु । बाँकी कुरा, १७ भदौपछि आउने प्रतिक्रियामा भरपर्छ । कथा बुझ्न दर्शकले धेरै दिमाग र जोड लगाइराख्न पर्दैन, उहाँहरुले हाम्रो प्रस्तुति र मेकिङको मज्जा लिन सक्नुहुन्छ । त्यसैले मलाई विश्वास छ, फिल्म सफल हुनेछ ।
प्रतिक्रिया