ओझेलमा परेकी ‘राधा’

शुक्रबारबाट २ फिल्म रिलिज भए । व्यापारिक रुपमा ‘राधा’ भन्दा केही माथि मात्र हो ‘प्रकाश’को व्यापार । सामाजिक संजालमा फिल्म चल्यो भन्दैमा हलमा व्यापार हुँदैन । वास्तविक आँकडा आउँदा निर्माता अचम्मित हुनु कुनै नौलो कुरा पनि भएन ।

एउटा कुरा के स्पष्ट हो भने, सोमबारसम्म ‘राधा’को व्यापार साह्रै कमजोर छ भने ‘प्रकाश’ शनिबार केही शो राम्रै चल्यो, अरु अवस्था नाजुक छ । काठमाडौं बाहिरको आँकडा झनै दयनिय छ दुबै फिल्मको ।

तर, शुक्रबार नै ‘प्रकाश’को टिमले विभिन्न आरोप लगाउँदै पत्रकार सम्मेलन गर्यो । खस भाषामा बनेको भन्दै ‘प्रकाश’लाई शो नदिइएको आरोप नायक प्रदीप खड्कादेखि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले लगाए । तर, यो फिल्म खस भाषामा बनेका कारण शो कम पाएको भने होइन । किनकी, नेपाली भाषामा नै बनेको ‘राधा’को शो पनि धेरै थिएन ।

‘प्रकाश’को टिमले सामाजिक संजालदेखि मिडियामा ठूलै हल्ला गर्यो । जसको असर फिल्म ‘राधा’लाई पर्यो । फिल्मको स्तरियता र कथावस्तुको आधारमा ‘प्रकाश र राधा’ दुई जनराका फिल्म हुन् । ‘राधा’ले एक महिलाको सहनशिलता र संघर्षको कथा भन्छ भने ‘प्रकाश’ले जुम्लाको वेथितीको । दुबै फिल्मको कथावस्तु औषत छ ।

‘राधा’मा श्रृष्टीले उत्कृष्ट काम गरेकी छिन्। यो फिल्मबाट श्रृष्टी अभिनयमा अब्बल नायिकाको रुपमा उदाएकी पनि छिन्् । तर, चर्चाको हिसाबले ‘राधा’पछि परिन् ।

सौगात मल्लले प्रदीपको जस्तो हल्ला गर्न चाहेनन् । न त उनले कसैलाई आरोप र प्रत्यारोप लगाएर फिल्म क्षेत्रमा नै अनावश्यक हल्ला मच्चाउन चाहे । ‘राधा’ ओझेलमा परिन्, तर उनी ओझेलमा पर्न पर्ने खालकी भने थिइनन् ।