कमेडियन अपूर्व क्षितिजलाई १० दिन थुनामा राख्न अनुमति
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार जातीय टिप्पणी गरेको आरोपमा पक्राउ परेका युट्यूव कमेडियन अपूर्व क्षितिज सिंहलाई अनुसन्धानका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले १० दिनको म्याद दिएका हुन् ।
कमेडियन सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।
सिंहले केही दिनअघि युट्यूवमा पोष्ट गरेको कमेडी भिडियोले नेवा समुदायको भाषा, खाना, संस्कृतिलाई लक्षित गर्दै व्यंग्य गरेको भन्दै उनीविरूद्ध अभियन्ताहरूले कारबाहीको माग गर्दै परिसरमा जाहेरी दिएका थिए। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो। जसमा नेवा समुदायको भाषा, संस्कृति, खाना, लगायत विषयमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका हुन्।
सिंहको स्ट्यान्डअपको भिडियो कमेडी क्याफेको युट्युब च्यानलमार्फत् ‘नेवारको परम्परा’ शीर्षकमा हालिएको थियो। सिंहले हाँस्यव्यंग्य गर्दा नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको आरोप छ।
जाहेरीपछि आइतबार परिसर पुगेका सिंहलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका सिंहमाथि अनुसन्धान थालेको परिसरले जनाएको छ। सिंहले भने उक्त भिडियो युट्यूवबाट हटाइसकेका छन् । उनले क्षमायाचना पनि गरेका छन् ।
प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेदको १०को दफा १६५ को सामाजिक रितिस्थितिमा खलल पुर्याउन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ। यो कसुरमा एक वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजायको कानुनी प्रावधान छ ।
प्रतिक्रिया