‘सम्हालिन्छ कहिले मन’ले सम्हाल्ला खस्किएको फिल्मी बजार ?

फिल्म वितरण तथा निर्माण कम्पनी एबी इन्टरनेशनलको ब्यानरमा बनेको ‘सम्हालिन्छ कहिले मन’ १७ भदौबाट प्रदर्शनमा आउँदैछ । नेपाली फिल्मलाई नयाँ गोरेटोमा लैजाने प्रतिवद्धता यस कम्पनीले गर्दै आएको छ । बेलायतका समुद्र, पहाड र क्यासल देखाइएको यस फिल्मको ट्रेलर र गीतहरुले सामाजिक सञ्जालमा राम्रो चर्चा कमाइरहेका छन् । यस फिल्मको ९० प्रतिशत छायाँकन बेलायतमा र केही भाग दुबईमा सुट गरिएको छ । त्यसका लागि झन्डै ५० जनाको समूह दुई महिनाभन्दा लामो समय बेलायत बसेका थिए ।

निर्माता अजितकुमार थापा भन्छन्, ‘ फिल्मको दायरालाई फराकिलो बनाउनुपर्छ भन्ने नै एबी इन्टरनेशनलको सोच हो । हामीले यसअघि युकेमै पासवर्ड खिचेका थियौं र सम्हालिन्छ कहिले मन पनि त्यहीँ खिच्यौं ।’ ०१२ मा अध्यननका शिलसिलामा बेलायत पुगेका थापाले अमित बस्नेत र परी रानासँग मिलेर त्यहाँ लाईन प्रोड्युसिङको काम समेत गरेका थिए ।

यसक्रममा उनीहरुले बलिउडका थुप्रै फिल्महरुको निर्माणमा सहयोग गरे, फिल्म वितरणको काम पनि गरे । ‘सधैं अरुको फिल्ममात्रै गरेर हुँदैन । हाम्रो सिनेमालाई पनि केही गर्नुपर्छ भन्ने लाग्थ्यों । हामीले नेपालबाट धेरै फिल्महरु लगेर युकेमा देखाएका पनि थियौं । ०१८ मा एबी इन्टरनेशनल खोलेर निर्माण तथा वितरणको कामलाई थप बिस्तार गरेका छौं,’ थापाले भने,‘हाम्रो लक्ष्य नेपाली फिल्मलाई एक स्टेप माथि लैजानुपर्छ भन्ने नै हो ।’

मेगा फिल्म

‘निर्माताले लगानीमा कन्जुस्याँइ गर्दा निर्देशकले आफ्नो सोचअनुसार खुलेर काम गर्न सक्ने अवस्था रहदैँन । त्यसपछि फिल्म जस्तो बन्नुपर्ने हो, त्यस्तो बन्दैन,’ महँगो लगानी खन्याउन तयार हुनुको कारणबारे थापा भन्छन्,‘हामीले मेकिङमा कम्प्रमाइज गरेका छैनौं । तपाईले फिल्म हेरेपछि अलग मेकिङको मज्जा लिन पाउनुहुन्छ । चाहे कलाकार होस्, चाहे प्राविधिक होस् वा अन्य पक्ष, सबैमा हामी सुदृढ छौं । त्यसैले यो एउटा मेगा फिल्म हो ।’

त्रिकोणात्मक प्रेमकथामा बनेको यस फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । थापा हिट फिल्म बनाउने निर्देशकका रुपमा चिनिन्छन् । उनले ‘मेरो एउटा साथी छ’, प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु–२ लगायत सुपरहिट फिल्महरु निर्देशन गरिसकेका छन् ।

पुजा शर्मा र आकाश श्रेष्ठजस्ता चलेका कलाकारसँगै दिग्गज कलाकार सरोज खनाल, गौरी मल्ल र धीरेन शाक्यले फिल्ममा अभिनय गरेका छन् । यति हुँदा–हुँदै पनि मुख्य भूमिकामा एकजना फ्रेस अनुहार आवश्यक परेपछि सोनाम तोप्देनलाई राखियो, तोप्देनले यसअघि नै कभर सिंगरका रुपमा चर्चा कमाइसकेका थिए । सौरभ लामाले खिचेको यस फिल्ममा बलिउडका प्राविधिकहरु समेत संलग्न छन् । ‘हलिउड र बलिउडका सिनेमामा देखिने लोकेशनमा गएर हामीले सुट गर्न पायौं, यस्तो अवसरका लागि म निर्माताहरुलाई धन्यवाद् भन्न चाहन्छु,’ केही दिनअघि अभिनेता आकाश श्रेष्ठले एक अन्तर्वातामा भनेका थिए ।

सामाजिक सञ्जालबाट पनि राम्रा प्रतिक्रियाहरु प्राप्त भएकाले फिल्म सफल हुनेमा निर्माता थापा ढुक्कजस्तै छन् । ‘सफल हुनेछौं, ढुक्कै छु,’ उनले भने,‘तर हामीलाई धेरै राम्रो गर्नुछ, धेरैभन्दा धेरैलाई हाम्रो सिनेमा देखाउनु छ, त्यसैले प्रचारमा पनि कुनै कम्प्रमाइज छैन ।’

बेलायतमा नै फिल्म खिच्नुको कारण के हो रु यसको जवाफमा थापा भन्छन्, ‘पहिलो त निर्देशकले देखेको भिजन नै हो । दोस्रो, त्यहाँ पहिलेदेखि नै काम गरेकाले हामीलाई सुट गर्न कुनै असहज छैन । हामीले खोजेका उच्चस्तरीय सामाग्री त्यहाँ तत्कालै मगाउन पाउँछौं किनकी हाम्रो कम्पनी पहिल्यैदेखि त्यहाँ सक्रिय छ । विदेशका दृश्य हेर्दा दर्शकलाई पनि मज्जा आउनेछ भन्ने मलाई लाग्छ ।’

नेपालका धेरै फिल्महरु विदेशमा सुट भइसकेका छन् । तर यति ठूलो स्केलमा सुट गरिएको यो नै पहिलो फिल्म हुनसक्ने थापा बताउँछन् । ‘हामीले अनुमति लिएरै त्यहाँ सुट गरेका छौं , त्यसैले खुलेर काम गर्न कुनै समस्या भएन । अर्को, हाम्रो ठूलो टिम त्यहाँ थियो, सायद यति ठूलो टिम फिल्म सुटिङका लागि नेपालबाट बेलायत गएको यो पहिलोपटक नै होला,’ उनले थपे, ‘दुई महिनाभन्दा लामो समय सुटिङका लागि बेलायत बसेको पनि पहिलोपटक होला ।’
बेलायतमा सुट भइरहदाँ यस फिल्मलाई धेरैले बलिउड फिल्म ठानेको थापाको अनुभव छ । ‘त्यहाँ सबैले बलिउडको फिल्म हो भनेर सोध्थे । नेपाली फिल्म भनिसकेपछि, उनीहरु छक पथ्र्यें,’ उनले भने,‘नेपाल सानो देश हुँदा–हुँदै पनि यहाँ यति ठूलो स्केल र उत्कृष्ट क्वालिटीका फिल्म बन्छन् भन्ने थाहा पाउँदा उनीहरु खुसी थिए । हाम्रै टिममा संलग्न भारतीय प्राविधिकहरुले पनि प्रशंसा गथ्र्यें ।’

एबी इन्टरनेशनल दुबई, युके, इन्डिया र नेपालमा छ । त्यसैले पनि बेलायत र दुबईमा सुट गर्न, भारतबाट प्राविधिक बोलाउन र नेपाली कलाकार तथा प्राविधिक लैजान यस टिमलाई समस्या भएन । यसअघि यस कम्पनीको ब्यानरमा निर्माण भएको पासवर्डमा भारतीय कलाकार सन्नी लियोनीले आइटम नृत्य समेत गरेकी थिइन् । २०२० मा लैला मञ्जु नामक हिन्दी फिल्म पनि यही कम्पनीको ब्यानरमा निर्माण भएको थियो । यसबाहेक पनि धेरै चर्चित बलिउड फिल्महरुमा यस कम्पनीले लाईन प्रोड्युसिङको काम गरिसकेको छ । ‘पहिल्यै बलिउडमा काम गरेको अनुभव भएकाले हामीलाई प्राविधिक ल्याउन र उच्चस्तरीय प्रविधि प्रयोग गर्न कठिन भएन । नेपाली फिल्मलाई पनि अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्छ भन्ने हाम्रो सोच छ,’ निर्माता थापाले भने,‘ त्यही सोचअनुसार यो फिल्मलाई लार्ज स्केलका खिचेका हौं । बलिउडका ए ग्रेड फिल्मभन्दा कुनै आधारमा यो कमजोर छैन । एउटा सटिक प्रेमकथामा उत्कृष्ट मेकिङको मज्जा यस फिल्मले दिनेछ ।’

बजार र लगानी

नेपाली फिल्म उद्योग कोरोनाका कारण लामो समय ठप्प रह्यो । भर्खरै जुर्मुराउने कोसिस गरेपनि धेरै फिल्महरु लगातार असफल भइरहेका छन् । यस्तो अवस्थामा ‘सम्हालिन्छ कहिले मन’ को नियति के होला ? यसले नेपाली फिल्म बजारलाई सम्हाल्छ वा आफैं धर्मराउँछ ?

‘नेपालमै २०–२५ करोड कमाउने फिल्मबारे पनि हामीले सुनेकै छौं, १० करोड व्यापार गर्नेहरु पनि छन् । राम्रो बनाए राम्रै चल्छ भन्ने यसैबाट प्रस्ट हुन्छ,’ थापाले भने,‘नेपाली भाषामा बनेको भएपनि क्वालिटी राम्रो छ भने अन्य भाषा बोल्नेहरुले समेत हेर्नेछन् । जस्तो, हामी आफैं हिन्दी, दक्षिण भारतीय, अंग्रेजी, कोरियन र इरानी फिल्म हेर्छौं ।’

उनले थपे, ‘ आज युट्युब र सामाजिक सञ्जालको जमाना छ । विश्वका जुनसुकै भाषाको फिल्म टेन्ड्रिडमा आएर हाम्रो मोबाइलको नोटिफिकेशनमै बसेको हुन्छ । हामीले राम्रो फिल्म बनाउन सकेनौं भने मानिस पैसा तिरेर, समय छुट्टयाएर किन हलसम्म धाउँछ ? बरु मोबाइलमै फिल्म हेर्छ नि । त्यसैले हामीले राम्रा फिल्महरु बनाउन जरुरी छ ।’

त्यसो त छिमेकी भारत र भूटानमा पनि ठूलो संख्यामा नेपालीभाषी छन् । थाइल्यान्ड, म्यान्मार, मलेसिया, मध्यपूर्व, बेलायत, युरोप, अमेरिका, अस्ट्रेलियालगायत देशमा धेरै नेपालीहरु छन् । ‘उनीहरुसमक्ष अहिले पनि कुनै न कुनै माध्यमबाट नेपाली फिल्महरु पुगिरहेकै छन् । जस्तो, बेलायतमा हामी आफैं नेपाली फिल्म लैजान्छौं । तर हामीले यतिमै सन्तुष्ट भएर बस्न हुँदैन, बजारलाई अझै बिस्तार गर्नुपर्छ । बजारले खोज्ने क्वालिटी नै हो, त्यसमा लगानी गर्नुपर्छ ।’