चलचित्र संघका पूर्व अध्यक्षको प्रश्न–‘शो महत्व हो कि दर्शक ?’

नेपाली फिल्मका निर्माताहरु शोका लागि जहिले पनि लडाई लडिरहेका हुन्छन् । हुनत, नेपाली फिल्मलाई शो दिने क्रममा हलवालाहरुबाट विभेद सधै भएको पाइन्छ । विशेषगरि, फिल्म हेर्ने समयमा कम शो दिने र दर्शक हलमा कम आउने समयमा शो भरिदिने समस्या नेपाली फिल्ममाथि खुबै छ । तर, फिल्मीकर्मी पनि शो पाएनौं भनेर उर्फिरहँदा पाएको शोमा पनि दर्शक नआएको कुरालाई स्विकार गर्न कहिले तयार हुँदैनन् ।

जस्तो, शुक्रबार रिलिज भएका दुबै फिल्म ‘राधा र प्रकाश’मा रिलिजको पहिलो दिन दर्शक नै आएनन् । फिल्म हेर्न दर्शक नआएपनि ‘प्रकाश’को टिमले उपयुक्त समयमा शो नदिएको भन्दै आक्रोश पोख्यो । शनिबार यो फिल्मका लागि केही प्रतिशत शो हलमा बढ्यो । तर, ‘प्रकाश’को लागि शो बढिरहँदा न त ‘राधा’ फिल्मका निर्माता बोले र न त यो फिल्मका लागि उपयुक्त समयमा नै शो थपियो ।

शनिबार काठमाडौंको सिभिल मलको केही शोमा ‘प्रकाश’ हेर्न दर्शक भरिए । यसैविच, चलचित्र संघका पूर्व अध्यक्ष प्रदीप कुमार उदयले सामाजिक संजालमा स्टाटस लेख्दै शो महत्व हो कि दर्शक भनेर प्रश्न गरेका छन् । उनले लेखेका छन्–‘अहिले फिल्म भवनहरुको शोको बारेमा आएको टिका टिप्पणीहरुले मेरो मनमा एउटा प्रश्न गम्भिर रुपमा जन्मेकोछ । फिल्म राधा भन्दा प्रकाशलाई बढी शो किन ? के हलवालाहरुले यस्तो बदमासी गर्न पाइन्छ ? फेरि मेरो मनमा अर्को प्रश्न जन्मियो, शो महत्व हो कि दर्शक ?’

उनले अगाडि लेखेका छन्–‘किनकी कबड्डीलाई कुनबेला र कति शो भन्ने प्रश्न कतै उठेन । साच्चै मेरो मनमा यो खुल्दुली ब्यापक भैरहेको छ ।’