शनिबार ‘प्रकाश’को सुखद व्यापार, दर्शकको वर्ड अफ माउथ राम्रो
नायक प्रदीप खड्काको स्टारडम पछिल्लो समय चुलिँदो अवस्थामा छ । यही स्टारडमको प्रभावस्वरुप हलवालालाई तर्साएरै ‘प्रकाश’ को शो थप्न उनी सफल भएका छन् ।
रिलिजको पहिलो दिन शुक्रबार अर्थात हिजो ‘प्रकाश’लाई १० वटामात्रै शो दिएको क्युएफएक्स चेनले शनिबार संख्या बढाएर २६ पुर्याएको छ । यसमध्ये आधाभन्दा धेरै शोमा दर्शक हाउसफुल रहेको निर्माण पक्षले दाबी गरेको छ ।
अन्य हलहरुमा पनि शनिबार शो संख्या ह्वात्तै थपिएको छ र राम्रो व्यापार भइरहेको छ । नेपाल मल्टिप्लेक्स संघका अध्यक्ष सुरेन्द्र थापाले ‘कबड्डी–३’ पछि नेपाली फिल्ममध्ये यति धेरै शो ‘प्रकाश’ ले नै पाएको बताए ।
शुक्रबार बलिउड फिल्म लाइगरले अत्यधिक शो पाएपनि आफ्नो फिल्मलाई पर्याप्त शो नदिइएको भन्दै प्रदीपले पत्रकार सम्मेलन गरेर असन्तुष्टी पोखेका थिए । ‘वितरकले फिल्म नहेरी प्रदर्शनमा रोक लगाउन खोजेका छन्, जबकी हेरेका दर्शकहरुले राम्रो प्रतिक्रिया दिइरहेका छन् । ठूला हलहरुले हामीलाई राम्रो समयमा शो दिएनन्,’ उनले भनेका थिए, ‘आउटलुक हेर्दा हाम्रो फिल्मले आम मानिसलाई कभर गर्न नसक्ला भन्ने पनि कतिपयलाई लाग्यो होला । तर फिल्म राम्रो छैन भनेर ट्याग लगाउन त मिल्दैन नि । यस्तै हो भने चोक–चोकमा प्रोजेक्टर लगाएर भएपनि फिल्म चलाउँछौं ।’
प्रतिक्रिया