हलवालाहरुले फिल्म ‘प्रकाश’ लाई विभेद गरेको भन्दै निर्माण टिमको आक्रोशित

आजबाट प्रदर्शमा आएको दिनेश राउतको निर्देशन तथा अभिनेता प्रदीप खड्काको अभिनय रहेको फिल्म ‘प्रकाश’ लाई विभेद गरिएकोे भन्दै फिल्म टिमले आपक्ति जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै फिल्म निर्माता महेन्द्र अधिकारीले आफूहरु अन्यायमा परेको महसुस भएको बताए । प्रकाश फिल्म दर्शकको लागि बनाइएको भन्दै दर्शकले चाहेको कुनै पनि समयमा फिल्म हेर्न पाउनुपर्नेमा वितरकले ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले आफुले गरेको दुःखलाई दर्शकले हेर्न नपाउनु दुःखद् भएको भन्दै आक्रोश पोखे ।

आफ्नो फिल्मको अब ३ शो मात्रै बाँकी भएको भन्दै उनले भने,‘१२ बजे, १ बजे, त्यो भन्दा बढी शो नै छैन् । एउटा क्वि.एफ.एक्स भेन्युमा ३ वटा हल हुन्छ । त्यसमा एटलिस्ट एउटा शो त हामीलाई आउनुपर्यो नि त । प्राइम टाइमदेखि अफ टाइमदेखिको शो हुन्छ ।’

उनले आफूले बनाएको फिल्मबारे केही नभन्ने भन्दै फिल्मको जज दर्शकले नै गर्ने धारणा राखे । फिल्ममा धेरै जनाको मेहनत रहेको उनको भनाई छ । अधिकारीले आफूले बनाएको चलचित्र दर्शकले समयमै हेर्न पाउनुपर्ने माग गरे । उनले भने,‘बिहान, दिउँसो, बेलुका र रातको समयमा हेर्न पाउनुपर्यो । हामी कति हेपिएर बस्ने ? विदेशी चलचित्रमात्र देखाउन पाउने भन्ने छ र ?’ उनले अब सरकारी तवरबाटै आफ्नो फिल्म प्रदर्शनबारे सोचेर आगामी दिनमा राम्रो चलचित्र कसरी बनाउने हो ? भनेर त्यसबारेमा पनि सिकाइदिन सम्बन्धित निकायसमक्ष आग्रह गरे ।

यस्तै, फिल्मका अभिनेता प्रदीप खड्काले फिल्म प्रदर्शन खुला प्रतियोगिता भएको भन्दै पुर्वाग्रही भयो की भएन त्यो चाँही ठुलो कुरा भएको बताएका छन् । उनले भने,‘हाम्रो फिल्मको आउटलुक हेर्दा आम मानिसलाई कभर गर्न नसक्ला भनेर आंकलन गरेपनि कसैले फिल्म झुर छ, राम्रो छैन् भनेर ट्यागै त लगाउन भएन नि ।’

वितरकले फिल्म नहेरी प्रदर्शनमा रोक लगाउन खोजेको र हेरेका दर्शकहरुले राम्रो प्रतिक्रिया दिइरहेको उनको भनाई छ । उनले ललितपुरको सबैभन्दा ठुलो हल लाबिम मलमा रहेको उल्लेख गर्दै उक्त हलमा पनि ३ बजेपछि शो नै नभएको बताए । उनले भने,‘साना हलहरुले बिहान, दिउँसो र बेलुका शो दिइराखेका छन्, तर ठुला हलहरुले अरु फिल्मलाई ५ बजेपछि दुई÷दुई शो दिने गर्छन्, ८ बजे, ९ बजे, ६ बजेको शो ।’

खड्काले प्रकाश फिल्म वैचारिक फिल्म भएको दाबी गर्दै देशभरका दर्शकले आफुलाई हलमा फिल्म हेर्न चाहेपनि शो नै नभएको भन्दै खबर पठाएको सुनाए । खड्काले आफू अभिनित प्रकाश फिल्मलाई पर्याप्त शो नदिईए र यस्तै समस्या भइरहे चोक–चोकमा प्रोजेक्टर लगाएर भएपनि फिल्म देखाउने बताए । वितरकले आफ्नो फिल्मप्रति सहानुभुति नदेखाएको उनको गुनासो छ ।

वितरकले सबै फिल्मलाई बराबर प्रदर्शन गर्नुपर्ने जोड दिँदै उनले भने,‘फिल्म चलेन भनेमात्र अर्को फिल्म दिनुपर्छ, फिल्मको रेस्पोन्स नै नहेरी र विश्लेषण नै नगरी यस्तो गर्नुमा मैले चाहीँ कहीँ न कहीँ नियतमै खोट देखेको छु ।’

त्यस्तै, प्रकाश फिल्मका स्क्रिप्ट–राइटर विकास सुबेदीले प्रकाश फिल्ममा नेपालीको वास्तविक जीवन झल्किएको स्पष्ट पारेका छन् । उनले नेपालको वास्तविक तथ्य बोकेर आएको फिल्म चल्ने फिल्म होइन भनेर साइड लाग्नु निकै दुःखद् भएको धारणा राखे । फिल्म नचल्ने र दर्शकले कम रुचाउने आंकलन गरेका फिल्महरुले नै दर्शकको मन जित्ने उनको विश्वास छ ।

देशमा बौद्धिक चिज हेर्ने जमातको कमी भएको उनको भनाई थियो । फिल्म वितरकले नेपालीपन बोकेको फिल्मलाई प्राथमिकता दिनुपर्नेमा त्यसको उल्टो निराशा उत्पन्न गराएको भन्दै उनले दुःखेसो पोखे । उनले भने,‘कुनै त्यस्ता तत्वहरु÷समुहहरु नेपालीपन बोकेका फिल्मलाई बाइकट गर्न हाम्रो फिल्मविरुद्ध लागेका छन् ।’