चोक–चोकमा प्रोजेक्टर लगाएर भएपनि फिल्म देखाउने प्रदीप खड्काको घोषणा

फिल्म ‘प्रकाश’ लाई विभेद गरिएकोे भन्दै फिल्म टिमले आपक्ति जनाएका छन्।

आज राजधानिमा पत्रकार सम्मेलन गर्दै नायक प्रदिपले फिल्म प्रदर्शन खुला प्रतियोगिता भएको भन्दै पुर्वाग्रही भयो की भएन त्यो चाँही ठुलो कुरा भएको बताएका छन् । उनले भने,‘हाम्रो फिल्मको आउटलुक हेर्दा आम मानिसलाई कभर गर्न नसक्ला भनेर आंकलन गरेपनि कसैले फिल्म झुर छ, राम्रो छैन् भनेर ट्यागै त लगाउन भएन नि ।’

वितरकले फिल्म नहेरी प्रदर्शनमा रोक लगाउन खोजेको र हेरेका दर्शकहरुले राम्रो प्रतिक्रिया दिइरहेको उनको भनाई छ । उनले ललितपुरको सबैभन्दा ठुलो हल लाबिम मलमा रहेको उल्लेख गर्दै उक्त हलमा पनि ३ बजेपछि शो नै नभएको बताए । उनले भने,‘साना हलहरुले बिहान, दिउँसो र बेलुका शो दिइराखेका छन्, तर ठुला हलहरुले अरु फिल्मलाई ५ बजेपछि दुई÷दुई शो दिने गर्छन्, ८ बजे, ९ बजे, ६ बजेको शो ।’

खड्काले प्रकाश फिल्म वैचारिक फिल्म भएको दाबी गर्दै देशभरका दर्शकले आफुलाई हलमा फिल्म हेर्न चाहेपनि शो नै नभएको भन्दै खबर पठाएको सुनाए ।

नायक खड्काले आफू अभिनित प्रकाश चलचित्रलाई पर्याप्त शो नदिईए र यस्तै समस्या भइरहे चोक–चोकमा प्रोजेक्टर लगाएर भएपनि फिल्म देखाउने बताए । वितरकले आफ्नो फिल्मप्रति सहानुभुति नदेखाएको उनको गुनासो छ ।

वितरकले सबै फिल्मलाई बराबर प्रदर्शन गर्नुपर्ने जोड दिँदै उनले भने,‘फिल्म चलेन भनेमात्र अर्को फिल्म दिनुपर्छ, फिल्मको रेस्पोन्स नै नहेरी र विश्लेषण नै नगरी यस्तो गर्नुमा मैले चाहीँ कहीँ न कहीँ नियतमै खोट देखेको छु ।’