फिल्मकर्मीलाई प्रदीपको चेतावनी–‘२५० को फिल्म हेर्न सक्नुहुन्न भने २ करोडको फिल्म नबनाउनुहोस्’
नायक प्रदीप खड्काले आफू अभिनित फिल्म ‘प्रकाश’लाई कम शो दिएको भन्दै प्रदर्शक र वितरकमाथि आक्रोश पोखिरहेका छन् । तर, उनको आक्रोश अब प्रदर्शकलाई मात्र होइन फिल्मीकर्मीमाथि पनि पोखिन थालेको छ ।
फिल्म क्षेत्रमा २५ सय भन्दा बढी मानिसहरु भएको र ती सबै मानिसले फिल्म हेर्नुपर्ने उनको तर्क छ । प्रदीपले भनेका छन्–‘यदि तपाई २५० रुपैयाँको टिकट काटेर फिल्म हेर्न सक्नुहुन्न भने तपाइहरु २ करोडको फिल्म नबनाउनुहोस् ।
कलाकार संघ, निर्माता संघ, प्राविधिक संघका मानिसहरुले फिल्म हेरेर ‘प्रकाश’ मन परेन भन्नुहुन्छ भने म व्यक्तिगत रुपमा पैसा फिर्ता गरिदिन्छु ।’
उनले फिल्म क्षेत्रका २५ सय मानिसहरुले आफूहरुले पाएको शो भर्न सक्ने भन्दै ती मानिसहरु कहाँ छन् भनेर प्रश्न समेत गरेका छन् ।
प्रदीपले अगाडि भने–‘२५ सय मानिसहरु सबै शुक्रबार नउत्रिने हो भने हामीहरुले के गर्छौ थाहा छ, तर तपाईहरुले फिल्म नबनाए हुन्छ । २५ सय मानिस सबैले हर भरिदिने हो भने प्रदर्शकहरुले शो थप्छन् कि थप्दैनन् भन्ने पनि देखिन्छ । दर्शकलाई यो फिल्म कस्तो छ थाहा छ, उहाँहरु विस्तारै आउनुहुन्छ ।’
आक्रोशित भावमा प्रदीपले अगाडि भने–‘तपाई जति पनि प्रदर्शकहरु हुनुहुन्छ, ल हामीलाई तिमीहरुले धेरै शो पाउन लायक फिल्म बनाएका छैनौ भनेर कन्भिन्स गर्नुहोस् । म अर्को पटकदेखि फिल्म नै खेल्न बन्द गरिदिन्छु ।’
आजबाट रिलिज भएको प्रदीप खड्का, दीया मास्के, रेनु योगीत लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । हिन्दी फिल्म ‘लाइगर’का कारण यो फिल्मले कम शो पाएको छ । प्रदीप यही कुरालाई लिएर आक्रोशित देखिएका छन् ।
प्रतिक्रिया