‘प्रकाश’को प्रिमियरमा आर्यन, नम्रतादेखि दीपाश्रीसम्म
हिजोआज नेपाली फिल्ममा एकले अर्कालाई साथ दिने प्रचलन हराउँदै गएको छ । एउटाको फिल्म रिलिज हुँदा अर्कोले साथ दिने, एउटाको प्रिमियरमा अर्को कलाकार जाने प्रचलन कम छ ।
भोली शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘प्रकाश’को प्रिमियरमा भने केही फिल्मीकर्मी पुगे । निर्देशक दिनेश राउतका प्रिय कलाकारहरु आर्यन सिग्देल, नम्रता श्रेष्ठदेखि निर्देशक दीपाश्री निरौला प्रिमियरमा देखिए ।
यस्तै, प्रदीपका प्रिय निर्देशक सन्तोष सेन, नायक सौगात मल्ल, नायिका श्रृष्टी श्रेष्ठ, कलाकार खगेन्द्र लामिछाने पनि प्रिमियरमा पुगेका थिए ।
फिल्म हेरेका अधिकांशले यसको कथा, सन्देश, प्रस्तुति र कलाकारलाई मन पराए । नायक आर्यन सिग्देल प्रतिक्रिया नै नदिई बाहिरिदा दीपाश्री निरौलाले फिल्मको कथावस्तु मन परेको बताइन् । उनले, यो फिल्म देशका नेताहरुलाई देखाउनुपर्ने तर्क गरिन् ।
यस्तै, नायिका नम्रता श्रेष्ठले आफूलाई निर्देशक राउतले कहिले पनि निराश नबनाएको भन्दै फिल्मले छोएको बताइन् । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि अर्गानिक नेपाली फिल्म बनाउने हिम्मत गरेकोमा टिमलाई वधाई दिइन् ।
महेन्द्र अधिकारीको निर्माणमा तयार भएको यो फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी लगायतका कलाकारको मुख्य भूमिका छ । जुम्लाको एक यूवकको सरकारी स्कुलको शिक्षक बन्ने सपनाको कथामा यो फिल्म बनेको छ ।
प्रतिक्रिया